काठमाडौँ, साउन १६ – पूर्व युवराज हृदयेन्द्र वीरविक्रम शाहको जुम्ला भ्रमणमाथि आधारित भ्लग अहिले चर्चाको केन्द्रमा छ। भ्लग सार्वजनिक भएपछि नेकपा (माओवादी केन्द्र) की सांसद छिरिङ ल्हामु लामाले तीव्र आलोचना गर्दै सामाजिक सञ्जालमार्फत आफ्नो असन्तुष्टि पोखेकी छिन्।
लामाका अनुसार शाहको भ्लगले जुम्लाको मौलिकता र यथार्थतालाई सही ढंगले प्रस्तुत गर्न सकेको छैन। उनले शाह परिवारले देशलाई आर्थिक, सामाजिक र राजनीतिक रूपमा कंगाल बनाएको आरोप लगाउँदै लेखेकी छिन्, “दरबारमा भोटे कुकुरका छाउरा झैँ ऐश आरामले हुर्किएका मानिसहरूले जुम्लाको पहिचान उठाउने अधिकार छैन।”
सांसद लामाले विशेषगरी स्थानीय ब्लगर सिर्जना सिज्जुजस्ता सृजनात्मक युवाहरूको योगदानको प्रशंसा गर्दै लेखेकी छन्, “सिर्जना सिज्जुको ब्लगले जुम्लालाई जति सजीव तरिकाले देखाएको छ, त्यो हृदयेन्द्र शाहको भ्लगले देखाउन सकेको छैन। तर मिडियाको ध्यान भने राजपरिवारकै सदस्यतर्फ मोडिन्छ।”
उनको भनाइमा, जुम्लाको हालको विकास २३८ वर्षे राजतन्त्रले होइन, गणतन्त्रको १५ वर्षे उपलब्धिले सम्भव भएको हो। “यो जुम्ला आज जहाँ पुगेको छ, त्यो राजाहरूको पालाले होइन, गणतन्त्रपछि भएका विकास प्रयासले सम्भव भएको हो,” उनले टिप्पणी गरिन्।
पूर्व युवराजको जुम्ला यात्रा र त्यसलाई केन्द्र बनाएर तयार पारिएको भ्लग सार्वजनिक भएपछि यसले राजनीतिक र सामाजिक वृत्तमा व्यापक प्रतिक्रिया सिर्जना गरिरहेको छ। केहीले शाहको प्रयासलाई सकारात्मक मानिरहेका छन् भने धेरैले यो सन्देशपूर्ण र पारदर्शी नभएको ठहर गरिरहेका छन्।