काठमाडौं, साउन १६ – अब सवारी चालक अनुमति पत्र (लाइसेन्स) १० वर्षसम्मका लागि मान्य हुने भएको छ। सरकारको तर्फबाट राजपत्रमा प्रकाशित ‘केही नेपाल ऐनलाई संशोधन गर्ने ऐन’ अनुसार अब लाइसेन्सको म्याद दोब्बर अर्थात् १० वर्ष कायम गरिएको हो।
यसअघि सवारी चालक लाइसेन्सको म्याद ५ वर्षका लागि हुने प्रावधान थियो। तर, हालै गरिएको कानुनी संशोधनसँगै अब पहिलोपटक लाइसेन्स लिने वा नविकरण गर्ने व्यक्तिलाई १० वर्षे म्याद दिइनेछ।
संशोधन गरिएको सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को दफा ५४ को उपदफा (३) मा ‘पाँच वर्षसम्म’ भन्ने शब्दलाई हटाएर ‘दश वर्षसम्म’ भन्ने शब्द राखिएको छ। त्यसैगरी, दफा ५६ को उपदफा (३) मा पनि यही संशोधन गरिएको छ।
सरकारको यो निर्णयसँगै सवारी चालकका लागि लाइसेन्स नविकरणको झन्झट घट्ने अपेक्षा गरिएको छ। यातायात व्यवस्था कार्यालयले अब नविकरण प्रक्रियामा पनि नयाँ कार्यविधि लागू गर्ने तयारी गरिरहेको छ।