इनरुवा (सुनसरी), साउन १९ – निरन्तर वर्षाका कारण सप्तकोशी नदीमा पानीको बहाव उच्च बनेको छ। कोशी ब्यारेजमा सोमबार बिहान ९ बजेसम्म पानीको बहाव प्रतिसेकेन्ड १ लाख ७५ हजार ६८५ क्यूसेक पुगेको सशस्त्र प्रहरी उपरीक्षक (एसपी) निर्मल थापाले जानकारी दिएका छन्।
उच्च बहावका कारण कोशी ब्यारेजका ५६ ढोकामध्ये २३ वटा ढोका खोलिएका छन्। तीमध्ये ५२ मूल ढोका र ४ नहर समावेश छन्।
एसपी थापाका अनुसार, जब बहाव १ लाख ५० हजार क्यूसेकभन्दा माथि पुग्छ, त्यस्तो अवस्थामा खतरा संकेतस्वरूप ब्यारेजमा रातो बत्ती बालिन्छ। आज पनि कोशी ब्यारेज कन्ट्रोल रुमले रातो बत्ती बालेर सर्वसाधारणलाई सतर्क गराइएको छ।
सप्तकोशीमा यसअघि २०६५ साल भदौ २ गते पानीको बहाव १ लाख ६८ हजार क्यूसेक पुगेका बेला पूर्वी तटबन्ध भत्किएको थियो। अहिलेको बहाव त्यसभन्दा अझ बढी रहेकाले स्थानीय प्रशासन उच्च सतर्कतामा रहेको छ।
सर्वसाधारणलाई आवश्यक सतर्कता अपनाउन र नदी किनार आसपास नजान आग्रह गरिएको छ।