कञ्चनपुर, साउन २० – कञ्चनपुरको बेलडाँडी गाउँपालिकामा एक किशोरी रहस्यमय अवस्थामा मृत फेला परेकी छिन्। १७ वर्षीया सम्झना भट्ट आफ्नै घरमा झुण्डिएको अवस्थामा आइतबार बिहान मृत भेटिएकी हुन्।
सम्झनाले करिब ६ महिना अघि २४ वर्षीय पवन भट्टसँग प्रेम विवाह गरेकी थिइन्। तर विवाहपछि सम्बन्धमा तनाव बढ्दै गएको र श्रीमान्ले बारम्बार कुटपिट गर्ने गरेको माइती पक्षको आरोप छ। मृत्युअघि सम्झनाले श्रीमानविरुद्ध इलाका प्रहरी कार्यालय बेलडाँडीमा कुटपिटको उजुरी दिएकी थिइन्।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता डीएसपी सागर बोहराका अनुसार, उजुरीपछि पवनलाई बोलाएर सम्झाइबुझाइ गरिएकै भोलिपल्ट सम्झना मृत अवस्थामा भेटिएकी हुन्। मृत्युपछि माइती पक्षले दिएको किटानी जाहेरीका आधारमा पवनलाई नियन्त्रणमा लिइएको र पाँच दिनको म्याद थप गरी अनुसन्धान सुरु गरिएको छ।
जाहेरीमा उल्लेख भएअनुसार, पवनले सम्झनालाई बारम्बार कुटपिट गर्नुका साथै मानसिक यातना दिने, चरित्रहत्या गर्ने जस्ता व्यवहार गर्दै आएका थिए। मृत्युअघि सम्झनाले एकजना साथीलाई वाट्सएप म्यासेज पठाएर श्रीमानको कुटपिटबारे जानकारी गराएकी थिइन् भन्ने पनि खुलेको छ।
पारिवारिक स्रोतअनुसार, सम्झना र पवनबीचको प्रेम सम्बन्ध १३ वर्षको उमेरदेखि सुरु भएको थियो। सम्बन्ध सार्वजनिक भएपछि उनीहरूले विवाह गरेका थिए। तर विवाहपछिको जीवनमा सम्झना निरन्तर हिंसाको सिकार बनिरहेकी थिइन् भन्ने परिवारको दाबी छ।
सम्झनाको शव परीक्षणका लागि महाकाली प्रादेशिक अस्पतालमा राखिएको छ। प्रहरी अहिले घटनाको विस्तृत अनुसन्धानमा जुटेको छ।