काठमाडौं, साउन २० – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सचिवालय बैठक आज पार्टी केन्द्रीय कार्यालय, वनस्थलीस्थित घण्टिघरमा सम्पन्न भएको छ। बैठकको सुरुमा हालै निधन भएका बर्दिया सभापति विपिन पौडेलप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोक व्यक्त गरिएको थियो।
प्रवक्ता डा. मनिष झाले जानकारी दिए अनुसार बैठकमा हालको राजनीतिक परिस्थिति, पार्टीभित्रका गतिविधिहरू, रुपन्देही-३ को उपनिर्वाचनको तयारी र सुदूरपश्चिम प्रदेशको समस्या समाधानसम्बन्धी टास्कफोर्सको प्रगति जस्ता महत्वपूर्ण विषयमा छलफल गरिएको छ।
यसका साथै विधानको व्याख्या तथा अनुशासन आयोगका प्रयोजन, निर्वाचन आयोगमा दल दर्ता प्रक्रियाबारे छलफल भएको र प्रतिनिधिसभा समानुपातिक सूचीबाट नाम हटाउने प्रक्रिया पनि एजेन्डामा रहेको जनाइएको छ।
बैठकमा अन्तर्राष्ट्रिय युवा दिवसको सन्दर्भमा आयोजना हुन लागेको “फ्युचर लिडर्स समिट”, भिजिट भिसा प्रकरण छानबिन समिति म्याद थपको प्रस्ताव र विदेशमा रहेका नेपाली नागरिकलाई मताधिकार सुनिश्चित गर्न दबाब अभियान सञ्चालन गर्ने योजनामाथि पनि चर्चा गरिएको थियो।
सभापति रवि लामिछानेमाथि भइरहेको राजनीतिक प्रतिशोधको विरोधमा जनहस्ताक्षर संकलन अभियानलाई थप प्रभावकारी बनाउने विषय पनि बैठकको केन्द्रबिन्दुमा रहेको बताइएको छ।