सांसद विश्वप्रकाशको व्यंग्य : ‘केरे केरे! तिम्रो पिताजीको शासन हो?’


सांसद विश्वप्रकाशको व्यंग्य : ‘केरे केरे! तिम्रो पिताजीको शासन हो?’
  • नवकिरण
  • श्रावण २१, २०८२

काठमाडौं, साउन २१ – नेपाली कांग्रेसका प्रवक्ता एवं सांसद विश्वप्रकाश शर्माले संसदमा बोल्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)प्रति कडा आलोचना गर्दै व्यंग्य गरेका छन्।

उनले विगतमा ‘केरे केरे! तिम्रो पिताजीको शासन हो?’ भनेर ठट्टा गर्नेहरू अहिले अदालत वा अन्य संस्थामा हस्ताक्षर संकलनमार्फत दबाब दिने प्रयासमा लागेको आरोप लगाए।

बुधबारको प्रतिनिधि सभा बैठकमा शर्माले भने, “हिजो ती स्वरहरू गर्जन्थे, आज भने हस्ताक्षर गरेर दबाब दिन खोज्छन्। कसलाई दबाब? अदालतलाई, क्याम्पसलाई कि अस्पताललाई?”

उनले रास्वपालाई ‘नयाँ शक्ति’को रूपमा चिनाउँदै सघन रूपमा सिक्न आग्रह गरे। “हामी पनि नयाँ छौं, सिक्दै छौं। सबै कुरा संसदले मान्नुपर्छ भन्ने मनोवृत्तिबाट बाहिर निस्कनुपर्छ,” उनले भने।

रास्वपाका सभापति रवि लामिछानेको जेल जीवनको प्रसंग उठाउँदै विश्वप्रकाशले भने, “सभापति जेलमा छन्, तर आदेश दिन स्वतन्त्र छन्। तर बाँकी साथीहरू बाहिर भए पनि जेलको कैदीझैं आदेश मान्न बाध्य छन्।”

उनले रास्वपामा कांग्रेसबाट गएका केही नेताहरू भएको प्रसंग उल्लेख गर्दै भने, “जबसम्म कांग्रेसमा थिए, त्यतिबेला मात्रै बोल्ने तागत थियो। कांग्रेसबाट बाहिरिएपछि त्यही तागत कायम रहन्छ भन्ने अपेक्षा गर्न सकिन्न।”

उनको यो भनाइसँगै रास्वपालाई लक्षित गर्दै उनले पुराना बानी र प्रवृत्तिबाट बाहिर निस्कन आग्रह गरे।