प्रचण्डको घोषणा: माओवादी नेताका छोराछोरी अब सार्वजनिक विद्यालयमै पढ्नुपर्ने


प्रचण्डको घोषणा: माओवादी नेताका छोराछोरी अब सार्वजनिक विद्यालयमै पढ्नुपर्ने
  • नवकिरण
  • श्रावण २२, २०८२

काठमाडौं, साउन २२ – नेकपा (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादी नेताहरूका छोराछोरीलाई सार्वजनिक विद्यालयमै पढाउने गरी पार्टीले नीतिगत निर्णय गर्न लागेको बताएका छन्।

अखिल (क्रान्तिकारी)ले बिहीबार काठमाडौंमा आयोजना गरेको शैक्षिक संवाद कार्यक्रममा बोल्दै प्रचण्डले स्थानीय तहका जनप्रतिनिधिहरूका सन्तानलाई सार्वजनिक विद्यालयमा अनिवार्य रूपमा पढाउने निर्णय कार्यान्वयनमा भइसकेको जानकारी दिए।

‘अब केन्द्रका नेताहरूका सन्तानलाई पनि त्यही नीतिमा ल्याउने तयारी भइरहेको छ,’ प्रचण्डले भने, ‘पार्टीभित्र छलफल चलेको छ र चाँडै औपचारिक निर्णय गर्नेछौं।’

उनले आफ्नो छोराछोरी विदेशमा अध्ययन नगएको उल्लेख गर्दै उदाहरणस्वरूप आफूलाई प्रस्तुत गरे। ‘म पार्टीको सबैभन्दा ठूलो अध्यक्ष हुँ। मेरा छोराछोरी विदेशमा पढ्न गएका छैनन्,’ प्रचण्डले भने, ‘हामी सबै नेताले आफ्ना सन्तानलाई सरकारी विद्यालय वा क्याम्पसमा नै पढाउने, विदेश नपठाउनेतर्फ प्रतिबद्ध छौं।’

प्रचण्डका अनुसार पार्टी नेतृत्व तहका सबै नेताहरूलाई यही मापदण्डअनुसार अघि बढाउने गृहकार्य भइरहेको छ। यो निर्णय लागू भएमा पार्टी नेताहरू र तिनका परिवारप्रति आम नागरिकको गुनासोलाई समेत सम्बोधन गर्ने अपेक्षा गरिएको छ।

यसअघि पार्टीले स्थानीय सरकार प्रमुखका छोराछोरीलाई अनिवार्य रूपमा सार्वजनिक विद्यालयमा अध्ययन गराउने निर्णय गरी कार्यान्वयनमा ल्याइसकेको थियो। अब यही मापदण्ड केन्द्रसम्म विस्तार गर्ने तयारी गरिएको हो।