माओवादीको प्राथमिकता सरकार होइन, जनताका मुद्दा : प्रचण्ड


माओवादीको प्राथमिकता सरकार होइन, जनताका मुद्दा : प्रचण्ड
  • नवकिरण
  • श्रावण २५, २०८२

चितवन, साउन २५ – नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अहिले सरकारमा सहभागी हुने कुनै योजना नभएको स्पष्ट पारेका छन्।

आइतबार भरतपुर विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै प्रचण्डले सरकारले गरेका कामको आलोचना गर्दा माओवादी केन्द्रलाई सत्ता चाहिएको जस्तो व्याख्या गरिनु गलत भएको बताए। “यो सरकारले राम्रो काम गरिरहेको छैन भनेर कुरा उठाउँदा सत्ता मोहको संकेत गर्नु गलत हो। हामीलाई अहिले सरकार चाहिएको छैन,” उनले भने।

उनका अनुसार पार्टीको ध्यान हाल जनताका समस्या सुन्न र समाधानका लागि अभियान सञ्चालनमा केन्द्रित छ। माओवादी केन्द्रले भदौको तेस्रो साताबाट स्थगित अभियान पुनः सुरु गर्ने र त्यसपछि केन्द्रीय समिति बैठक बसेर नयाँ एजेन्डासहित अघि बढ्ने तयारी गरेको उनले जानकारी दिए।

प्रचण्डले हालै सम्पन्न स्थायी समिति बैठकबाट पार्टी एकताबद्ध भएको दाबी गर्दै बैठकमा भएका निर्णय कार्यान्वयनमा ल्याइने बताए।

अर्को प्रसंगमा, उनले निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको निरीक्षण गरेको र त्यहाँको कामलाई द्रुतगतिमा अघि बढाउनुपर्ने आवश्यकता महसुस भएको उल्लेख गरे।