रुपन्देही, साउन २६ -रुपन्देही जिल्ला अदालतमा आज राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको मुद्दामा सुनुवाइ हुँदैछ। न्यायाधीश नारायण सापकोटाको इजलासमा पेशी तोकिएको यो मुद्दा बुटवलस्थित सुप्रिम सहकारी ठगी प्रकरणसँग सम्बन्धित हो।
सुप्रिम सहकारीमार्फत २ करोड ७४ लाख ८४ हजार रुपैयाँ बिगो बुझाइदिएको दाबी गर्दै लामिछानेले आफूलाई जमानतमा रिहा गर्न १९ साउनमा निवेदन दर्ता गरेका थिए। उनले मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ६८ अनुसार बैंक जमानतमार्फत रिहाइको माग गरेका हुन्।
गत चैत २२ गते उच्च अदालत तुलसीपुरको बुटवल इजलासले लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएपछि उनी हाल भैरहवा कारागारमा रहेका छन्।
कानूनअनुसार दफा ६८ ले अभियुक्तसँग धरौटी वा बैंक जमानत लिएर रिहा गर्ने प्रावधान राख्छ भने दफा ७१ ले मुद्दाको जुनसुकै चरणमा थुनाबाट रिहाइको आदेश दिन सकिने व्यवस्था गरेको छ। अदालतले आजको सुनुवाइमा लामिछानेको रिहाइ सम्बन्धी निवेदनमा निर्णय लिने अपेक्षा गरिएको छ।