लामिछानेलाई राखिएको कोठाको झ्यालमा प्लाइउड हटाउन आयोगको निर्देशन


लामिछानेलाई राखिएको कोठाको झ्यालमा प्लाइउड हटाउन आयोगको निर्देशन
  • नवकिरण
  • श्रावण २६, २०८२

रुपन्देही, २६ साउन — राष्ट्रिय मानवअधिकार आयोगको टोलीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई राखिएको रुपन्देही जिल्ला कारागारको अनुगमन गरेको छ। टोलीले लामिछानेलाई छुट्टै कोठामा राखिए पनि झ्यालमा प्लाइउड ठोकिएर प्रकाश र हावा पर्याप्त नपुगेको पत्ता लगाएको छ।

आयोगका प्रवक्ता डा. लिली थापाले कारागार प्रशासनलाई उक्त प्लाइउड हटाउन निर्देशन दिएको जानकारी दिइन्। “सुरक्षाको कारणले झ्याल थुनिएको बताइएको थियो, तर त्यसले कैदीको स्वास्थ्य र सुरक्षामा असर पुर्‍याउँछ,” उनले भनिन्।

अनुगमनका क्रममा आयोगले लामिछानेलाई केही दिनदेखि कोठाभित्र बाहिर ननिस्कन दिइएको अवस्था पाइएको उल्लेख गर्दै, “प्रशासनिक संरचना साँघुरो छ र सुरक्षाको कारणले कैदीहरूको अवस्था अझ जटिल बनेको छ,” प्रवक्ता थापाले बताइन्।

त्यसैगरी, जिल्ला कारागारको क्षमता २५० जनाको भए पनि हाल ६५० भन्दा बढी कैदी रहेको आयोगले पत्ता लगाएको छ। अन्य कैदीहरूको अवस्था पनि कठिन रहेको बताउँदै आयोगले कारागारको समग्र अवस्था सुधार गर्न कारागार प्रशासनलाई जोडदार सुझाव दिएको छ।