रुपन्देही, साउन २७ – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङदेनले मंगलबार रुपन्देही कारागारमा पुगी स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेलाई भेटेका छन्। भेटपछि पत्रकारसँग कुरा गर्दै लिङदेनले लामिछानेलाई रोजेको कारागारमा स्थानान्तरण नगर्नु उचित नभएको टिप्पणी गरेका छन्।
उनका अनुसार, पूर्व उपप्रधान तथा गृहमन्त्रीसमेत भइसकेको व्यक्तिले आफ्नो स्वास्थ्य र सुविधालाई ध्यानमा राखी कारागार परिवर्तनको माग गर्दा पनि वेवास्ता गर्नु राम्रो सन्देश नहुने हो।
“यो स्तरको मान्छेलाई थुनामा हुँदा, पायक पर्ने र सहज हुने स्थान रोज्न दिने कुरा सामान्य हो। तर, अदालतले अनुमति दिइसक्दा पनि सरकारले रोकेको जानकारी उहाँमार्फत पाएँ,” लिङदेनले भने, “यस विषयमा सरकारको विशेष ध्यान जानु आवश्यक छ।”
यसअघि सोमबार, राष्ट्रिय मानव अधिकार आयोगको टोलीसँगको भेटमा पनि लामिछानेले कारागार सार्ने स्वीकृति अदालतबाट प्राप्त भए पनि सरकारले अड्काएको विषय उठाएका थिए।