एआईको भरपुर उपयोग गरिरहेको छु, च्याटजीपीटीले सबै भन्दिहाल्छ : प्रधानमन्त्री ओली


एआईको भरपुर उपयोग गरिरहेको छु, च्याटजीपीटीले सबै भन्दिहाल्छ : प्रधानमन्त्री ओली
  • नवकिरण
  • श्रावण ३०, २०८२

काठमाडौं, साउन ३० – प्रधानमन्त्री केपी शर्मा ओलीले आफू एआई (कृत्रिम बुद्धिमत्ता) प्रविधिको सक्रिय प्रयोगकर्ता रहेको बताएका छन्। शुक्रबार काठमाडौंमा आयोजित डिजिटल नेपाल कन्क्लेभ २०२५ को पावर संवाद सत्रमा सहभागी हुँदै उनले च्याटजीपीटीलाई समेत प्रयोग गर्ने गरेको खुलासा गरे।

‘अहिले डिजिटल युगमा म पनि एआई प्रयोग गर्छु, च्याटजीपीटीले सबै भन्दिहाल्छ,’ प्रधानमन्त्री ओलीले मुस्कुराउँदै भने, ‘तर हुर्किँदै गर्दा बालबालिकालाई अन्य आवश्यक कुरा पनि सिकाउनुपर्छ।’

प्रधानमन्त्रीले एआईसम्बन्धी नीति मन्त्रिपरिषदबाट पारित भइसकेको जानकारी दिँदै यस क्षेत्रमा अझ धेरै काम गर्न आवश्यक रहेको बताए। उनले प्रविधिको प्रयोगमा युवालाई प्रोत्साहन दिनुपर्ने र बालबालिकालाई मोबाइलको अत्यधिक प्रयोगबाट जोगाउनुपर्नेमा जोड दिए।

‘मोबाइल अहिले आकर्षणको केन्द्र बनेको छ। साना बच्चा गेम खेल्नेतिर मात्र लागेका छन्, त्यसैले सिर्जनात्मक कार्यमा लगाउनुपर्छ,’ उनले भने।

ओलीले आफू प्रविधि क्षेत्रमा विशेषज्ञ नभए पनि आईसीटी र एआई प्रवर्द्धन गर्न प्रतिबद्ध रहेको बताए। ‘हामी कसरी एआई र सूचना प्रविधिलाई अघि बढाउने भन्ने सोचिरहेका छौं,’ उनले भने, ‘मानव मस्तिष्कलाई कुनै प्रविधिले जित्न सक्दैन।’

उनले नयाँ पुस्तामा पर्याप्त क्षमता रहेको भन्दै अवसर पाउनासाथ उनीहरूले देशको मुहार फेर्न सक्ने विश्वास व्यक्त गरे। ‘सरकारले नयाँ पुस्तालाई पूर्ण साथ दिनेछ,’ ओलीको भनाइ थियो।