काठमाडौं, साउन ३० – साउदी अरेबियामा अवैध रूपमा कार्यरत नेपालीहरूको वैधानिकीकरण प्रक्रिया सुरु भएको छ। रियादस्थित नेपाली दूतावासले शुक्रबारदेखि करिब ४ लाख नेपालीका लागि विभिन्न सेवा सुविधा बढाउँदै श्रम स्वीकृति प्रदान गर्ने काम थालेको छ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले भर्चुअल कार्यक्रममार्फत कार्यक्रमको शुभारम्भ गरेका हुन्। उनले यो अभियानलाई ऐतिहासिक क्षण भनेका छन् र नेपाली नागरिकलाई राज्यको प्रणालीसँग जोड्ने पहल भएको बताए।
यस कार्यक्रमअन्तर्गत सन् २०२४ सेप्टेम्बर ३० भन्दा अघि साउदी अरबमा काम गरिरहेका तर नेपालबाट श्रम स्वीकृति नलिएका श्रमिकहरूले दूतावासमा गएर बायोमेट्रिक प्रक्रिया पूरा गरेपछि वैधानिक श्रम स्वीकृति प्राप्त गर्न सक्नेछन्।
रियादस्थित श्रम काउन्सुलर कविराज उप्रेतीका अनुसार, कार्यक्रमले श्रम स्वीकृतिबिनै काम गरिरहेका करिब दुई लाख नेपालीलाई लक्षित गरेको छ। पहिलो सेवाग्राहीका रूपमा १५ वर्षदेखि साउदीमा कार्यरत अजय दकालले बायोमेट्रिक प्रक्रिया पूरा गरेका थिए।
बायोमेट्रिक प्रक्रिया सम्पन्न भएपछि सामाजिक सुरक्षा कोष, कल्याणकारी कोष र म्यादी जीवन बीमा रकमको भुक्तानीपछि श्रम स्वीकृति दिइने छ।
दूतावासकी नियोग उपप्रमुख सिर्जना अधिकारीले वैदेशिक रोजगारीलाई सुरक्षित, मर्यादित र व्यवस्थित बनाउन नेपाल सरकारको लक्ष्य अनुसार दूतावासले यो पहल गरेको बताइन्।
रियादका लागि नेपाली राजदूत डा. नरेश विक्रम ढकालले करिब ४ लाख नेपालीको लागि सेवा सुविधा थप गर्दै कार्यक्रमलाई सरल र सहज बनाउने उद्देश्यले अघि बढाइएको बताए।