रौतहटमा करेन्ट लागी साउन महिनामै ४ जनाको ज्यान


रौतहटमा करेन्ट लागी साउन महिनामै ४ जनाको ज्यान
  • नवकिरण
  • श्रावण ३१, २०८२

रौतहट, साउन ३१ – खेतमा सिँचाइका क्रममा प्रयोग गरिने विद्युतीय मोटरले मधेसमा मृत्यु दर बढाएको तथ्यांक सार्वजनिक भएको छ। सावधानी नअपनाउँदा र सुरक्षा उपकरणको अभावमा करेन्ट लागेर साउन महिनाभरमै रौतहटमा ४ जनाले ज्यान गुमाएका छन्।

परोहा नगरपालिका–६ बसन्तपट्टीका १६ वर्षीय राहुल कुमार पण्डितको गत बिहीबार करेन्ट लागी मृत्यु भएपछि घटनाप्रति चासो बढेको हो। यसअघि माधवनारायण–४ का रामबाबु मुखिया, कटहरिया नगरपालिका–२ का मोक्तार देवान र मौलापुर–८ का नरेन्द्र पटेल पनि करेन्टकै कारण ज्यान गुमाइसकेका थिए।

जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख प्रहरी उपरीक्षक नेत्रमणि गिरीका अनुसार विद्युत् लाइन काट्ने उपकरणको अभाव, बिग्रिएको तार वा मोटर प्रयोग गर्दा लापरबाही, तथा भिजेको माटोमै काम गर्नेजस्ता कारणले जोखिम बढेको छ।

गत आर्थिक वर्ष २०८१/८२ मा मात्रै मधेस प्रदेशमा करेन्ट लागेर ११९ जनाको ज्यान गएको मधेस प्रदेश प्रहरी कार्यालय जनकपुरधामले जनाएको छ। मृतकमध्ये ८४ पुरुष, १८ महिला, १३ बालक र ४ बालिका रहेका छन्।