शेखर कोइरालाको एमालेमाथि प्रहार : “जहाँ खाली जग्गा, त्यहाँ एमाले”


शेखर कोइरालाको एमालेमाथि प्रहार : “जहाँ खाली जग्गा, त्यहाँ एमाले”
  • नवकिरण
  • श्रावण ३१, २०८२

काठमाडौं, साउन ३१ – नेपाली कांग्रेसका वरिष्ठ नेता तथा सांसद डा. शेखर कोइरालाले सत्ता साझेदार दल नेकपा (एमाले)माथि तीव्र प्रहार गरेका छन्।

शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले एमाले भूमि सम्बन्धी विधेयकदेखि संघीय निजामती ऐनसम्मका विषयमा अनुचित चलखेल गरिरहेको आरोप लगाए।

कोइरालाले भूमि सम्बन्धी विधेयकमा कांग्रेस सांसदहरूले राखेका संशोधनमाथि छलफल गर्न नदिएको भन्दै असन्तुष्टि जनाए। उनले भने, “जहाँ खाली जग्गा देखिन्छ, त्यहाँ एमालेको आँखा पुग्छ। गोकर्ण रिसोर्टदेखि पोखराको लिचीबारी र गिरीबन्धु टी-स्टेट सम्म एमालेको नाम सुनिन्छ।”

उनले भूमिसुधार मन्त्रीको राजीनामाको माग एमाले भित्रैबाट उठिसक्दा पनि मन्त्रीलाई जबरजस्ती पदमा टिकाइ राखिएको दाबी गरे। “कास्की जिल्लाकै एमाले कमिटीले राजीनामा दिनुपर्छ भनेको छ, तर अझै पनि मन्त्री पदमै छन्,” कोइरालाले बताए।

त्यसैगरी, संघीय निजामती ऐनमा रहेको ‘कुलिङ अफ पिरियड’ मा एमालेले हस्तक्षेप गर्न खोजेको आरोप समेत उनले लगाए। राष्ट्रिय सभामा एमाले सांसदहरूले ‘कुलिङ पिरियड’ हटाउने संशोधन प्रस्ताव राखेको भन्दै कोइरालाले यसलाई छलकपट पूर्ण राजनीति भने।

“अब यो कुरा लुकाउने अवस्था छैन। एमाले छलकपट गर्छ भन्ने कुरा प्रष्ट भइसकेको छ,” कोइरालाले टिप्पणी गरे।