काठमाडौँ, भदौ २१ – अविरल वर्षापछि आएको बाढी र पहिरोका कारण मुलुकभरका दर्जनभन्दा बढी प्रमुख राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएका छन् भने सयौँ सडक आंशिक सञ्चालनमा रहेका छन्।
सडक विभागका अनुसार हालसम्म १२ वटा राजमार्गमा आवागमन पूर्ण रूपमा रोकिएको छ। त्यस्तै, १६० सडक खण्डमा सवारी एकतर्फी सञ्चालनमा छन्। विभागले अवरुद्ध राजमार्ग खुलाउने प्रयास निरन्तर भइरहेको जनाएको छ।
अवरोध भएको मार्गमध्ये ठोरी–भण्डारा–मलेखु, गल्छी–त्रिशूली–वेत्रावती–मैलुङ–स्याफ्रुबेँसी–रसुवागढी सडकखण्ड र कर्णाली राजमार्गका विभिन्न भाग प्रमुख रहेका छन्। त्यसैगरी, कोशी राजमार्ग अन्तर्गत लेघुवाघाट–तुम्लिङ्गटार–खाँदबारी–नुम–किमाथाङ्का सडक र तमोर करिडोर पनि पूर्ण रूपमा बन्द भएको विभागले जनाएको छ।
छिन्चु–कुदु–जाजरकोट–दुनै–धो–तिन्जे–मरिम (भेरी करिडोर), कोइलाबास–लमही, सुर्खेत–दुल्लु–जुम्ला सडक, शहीद मार्गका केही खण्ड, साथै अरनिको राजमार्गमा पनि आवागमन ठप्प छ। अरनिको राजमार्ग अवरुद्ध हुनुमा सडक विस्तार र निर्माण कार्य पनि कारण बनेको विभागले जानकारी दिएको छ।
यसैबीच, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका प्रवक्ता भीमार्जुन अधिकारीले अवरुद्ध सडकलाई प्राथमिकतामा राखी यथाशीघ्र सञ्चालनमा ल्याउन सकिने बताए।