सामाजिक सञ्जाल प्रतिबन्धविरुद्धको प्रदर्शनमा पाँच युवा पक्राउ


सामाजिक सञ्जाल प्रतिबन्धविरुद्धको प्रदर्शनमा पाँच युवा पक्राउ
  • नवकिरण
  • भाद्र २१, २०८२

काठमाडौं, भदौ २१ – सामाजिक सञ्जालमाथि लगाइएको प्रतिबन्धको विरोधस्वरूप राजधानीमा प्रदर्शन गरेका पाँच जना युवालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

नयाँबानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र अगाडि ‘युथ कंग्रेस नेपाल’ले आयोजना गरेको विरोध कार्यक्रममा सहभागी रहेका उनीहरूलाई पक्राउ गरिएको हो।

पक्राउ परेकामध्ये संस्थाका महामन्त्री प्रभात कुमार ठाकुर, कोषाध्यक्ष विराज अर्याल, केन्द्रीय सदस्यहरू सुजन राज गिरी र धिरज सञ्जेल तथा सदस्य आशिष शर्मा रहेका छन्।

युवाहरूले मुखमा मास्क र त्यसमा कालो टेप टाँसेर सांकेतिक रूपमा आफ्नो असन्तोष प्रकट गरेका थिए। अभिव्यक्ति स्वतन्त्रता र लोकतन्त्रको पक्षमा आफूहरूले आवाज उठाएको उनीहरूको भनाइ छ।

संस्थाले विज्ञप्ति जारी गर्दै पक्राउ परेका सदस्यहरूको तत्काल रिहाइको माग गरेको छ। साथै, शान्तिपूर्ण आन्दोलनलाई बलपूर्वक दमन गर्ने कुनै पनि प्रयास गैर–लोकतान्त्रिक हुने चेतावनी पनि दिएको छ।