नेपाली विद्यार्थी विपिनसहित ४८ बन्दीको ‘बिदाइ तस्बिर’ सार्वजनिक


नेपाली विद्यार्थी विपिनसहित ४८ बन्दीको ‘बिदाइ तस्बिर’ सार्वजनिक
  • नवकिरण
  • आश्विन ५, २०८२

काठमाडौं, असोज ५ – गाजामा युद्ध चर्किंदै जाँदा हमासले ४८ जना बन्दीको तस्बिर सार्वजनिक गरेको छ। उक्त तस्बिरमा नेपालका गोरखा निवासी विद्यार्थी विपिन जोशी पनि देखिएका छन्।

हमासको सैन्य शाखा कस्साम ब्रिगेडले अनलाइनमार्फत तस्वीर सार्वजनिक गर्दा केही बन्दी जीवित र केही मृत रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यम अल जजिराले जनाएको छ।

विपिनको परिवार अझै आधिकारिक जानकारीको प्रतीक्षामा छ। “हामी लगातार इजरायलसँग सम्पर्कमा छौँ तर प्रष्ट सूचना आएको छैन,” परिवारजनले बताएका छन्।

सार्वजनिक गरिएका सबै तस्वीरहरूमा ‘रोन अरद’ लेखिएको छ। रोन अरद इजरायली वायुसेनाका क्याप्टेन हुन्, जो १९८६ मा विमान दुर्घटनापछि बेपत्ता भएका थिए। उनको वास्तविक अवस्था अझै अज्ञात रहँदै आएको छ।

हमासले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूको अस्वीकारात्मक नीतिलाई बन्दीहरूको जीवन संकटमा पार्ने कारक ठहराएको छ। इजरायलले करिब २० बन्दी अझै जीवित रहेको दाबी गरे पनि अमेरिकाले त्यो संख्या कम हुन सक्ने अनुमान गरेको छ।

गत वर्ष अक्टोबरदेखि सुरु भएको युद्धमा हालसम्म ६५ हजारभन्दा बढी प्यालेस्टिनीको ज्यान गइसकेको छ। निरन्तर बमबारीका कारण गाजाका हजारौँ नागरिक विस्थापित भएका छन् र क्षेत्र युद्धग्रस्त बनेको छ।