स्वास्थ्य मन्त्रीमा सिफारिस भएकी डा. संगीताको नाम ‘होल्ड’


स्वास्थ्य मन्त्रीमा सिफारिस भएकी डा. संगीताको नाम ‘होल्ड’
  • नवकिरण
  • आश्विन ६, २०८२

काठमाडौं, असोज ६ – स्वास्थ्य मन्त्रालयको जिम्मेवारी सम्हाल्ने पक्का जस्तै देखिएकी डा. संगीता मिश्राको नाम अन्तिम समयमा ‘होल्ड’ भएको छ।

प्रधानमन्त्री सुशीला कार्कीले आइतबार राष्ट्रपति समक्ष मन्त्रीको रुपमा सिफारिस गरेकी थिइन्। तर, उनीविरुद्धको भ्रष्टाचारसम्बन्धी छानबिनको जानकारी पाएपछि प्रधानमन्त्रीले सिफारिस फिर्ता लिने तयारी गरेको स्रोतले जनाएको छ।

डा. मिश्राले स्वास्थ्य मन्त्री बन्ने सम्भावना बढेपछि आइतबार नै अतिरिक्त सचिव पदबाट राजीनामा दिएकी थिइन्। तर, विवादित पात्र भएको भनाइ बाहिर आएपछि मन्त्रिपरिषद् विस्तार रोकिएको हो। अहिले दिउँसो २ बजे मन्त्रिपरिषद् विस्तार र शपथग्रहण कार्यक्रम तय भएको छ।

प्रधानमन्त्री कार्कीले आइतबार स्वास्थ्य मन्त्रीका लागि डा. मिश्रासहित शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा महावीर पुन, उद्योग वाणिज्य तथा आपूर्ति तथा भूमिसुधारमा पूर्वन्यायाधीश अनिलकुमार सिन्हा, कृषिमा डा. मदन परियार र सञ्चार, सूचना तथा प्रविधिमा जगदीश खरेलको नाम सिफारिस गरेकी थिइन्।

सचिव हुन नसकेको असन्तुष्टिले उनी ६ महिनासम्म बिदामा बसेकी थिइन्। गत फागुनमा वरिष्ठता मिचेर डा. विकास देवकोटा सचिव नियुक्त भएको भन्दै उनले सर्वोच्च अदालतमा रिटसमेत दायर गरेकी थिइन्।

स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा. मिश्राले स्वास्थ्य सेवा विभाग, समन्वय महाशाखा, कोशी अस्पताल र प्रसूति अस्पतालमा उच्च जिम्मेवारी सम्हालिसकेकी छिन्। उनी हाल स्वास्थ्य सेवाकी १२औं तहकी अधिकारी हुन्।