एक महिना सजाय बाँकी रहँदा श्रीमतीको हत्या, जेल पुगे सन्तबहादुर


एक महिना सजाय बाँकी रहँदा श्रीमतीको हत्या, जेल पुगे सन्तबहादुर
  • नवकिरण
  • आश्विन ६, २०८२

काभ्रेपलाञ्चोक, असोज ६ – काभ्रेको पनौती नगरपालिका–१२, गागलका सन्तबहादुर तामाङले आफ्नै श्रीमती मनिषा घ्यावा तामाङ (जमुना)को हत्या गरी शव पुरेपछि नख्खु कारागार फर्किएको तथ्य बाहिर आएको छ।

जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रमुख कोमल शाहका अनुसार तामाङले अपराध लुकाउन शवलाई घर नजिकैको करेसा बारीमा खाल्डो खनी गाडेका थिए। त्यसपछि उनी असोज ३ गते नख्खु कारागार पुगेका थिए। प्रहरीको आशंका अनुसार, जेलमै उपस्थित हुनु उनको हत्या प्रकरणबाट जोगिने रणनीति थियो।

गएको भदौ २४ गते नख्खु कारागारमा भएको ‘जेनजी’ आन्दोलनका क्रममा भागेका तामाङमाथि श्रीमती परपुरुषसँग सम्बन्धमा रहेको शंकाका कारण असोज २ गते राति झगडा भएको प्रारम्भिक अनुसन्धानले देखाएको छ। सोही झगडामा कुटपिटका कारण मनिषाको मृत्यु भएको प्रहरीको भनाइ छ।

प्रहरी टोलीले शव उत्खनन गरी पोष्टमार्टमका लागि धुलिखेलस्थित फोरेन्सिक मेडिसिन विभागमा पठाइसकेको जनाएको छ।

कारागार प्रशासनका अनुसार जबरजस्ती करणीको मुद्दामा सजाय भोगिरहेका तामाङको कैद अवधि समाप्त हुन अझै एक महिना मात्र बाँकी थियो। उनको १२ वर्षीय छोरा र ३ वर्षीया छोरी छन्।

हाल उनलाई कर्तव्य ज्यान मुद्दामा थप अनुसन्धान थालिएको प्रहरीले जनाएको छ।