काठमाडौं, असोज ९ – नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू जिम्मेवारीबाट भाग्ने मनसाय नभएको तर पदमा टाँसिरहन पनि नचाहेको स्पष्ट पारेका छन् ।
पार्टीको सातौँ पूर्ण केन्द्रीय समिति बैठकलाई बिहीबार सम्बोधन गर्दै प्रचण्डले नेतृत्व हस्तान्तरणको बहसबीच आफूले सन्देश दिन चाहे । उनले भने, “नेतृत्व कसैलाई टिको लगाएर दिने कुरा होइन, वैज्ञानिक विधि र प्रक्रियाबाट हस्तान्तरण हुनुपर्छ।”
प्रचण्डका अनुसार विगतको जनयुद्ध, जनआन्दोलन र शान्ति प्रक्रियामार्फत सामन्तवादमाथि विजय हासिल भए पनि विदेशी प्रतिक्रियावाद र दलाल पुँजीवादमाथि अझै निर्णायक जीत हासिल गर्न नसकिएको छ । यसलाई चुनौतीका रूपमा लिँदै उनले पार्टीलाई नयाँ विचार, नयाँ शैली र नयाँ अभियानमार्फत अघि बढाउनुपर्नेमा जोड दिए ।
नेतृत्वबारे उठेका शंका चिर्दै उनले भने, “कतिपयलाई लाग्छ प्रचण्ड आफैं पद नछोड्ने वातावरण बनाइरहेको छ । ममा त्यस्तो सोच छैन । परिस्थिति र आवश्यकताअनुसार नेतृत्व हस्तान्तरण हुन्छ।”
बैठकमा उनले पदाधिकारीसहित वर्तमान केन्द्रीय समितिलाई अस्थायी रुपमा स्थगित गरेर आयोजक समितिमा रूपान्तरण गर्ने प्रस्ताव पनि अघि सारे । यो कदमले माओवादी केन्द्रलाई अन्य दलभन्दा फरक देखाउने र नेतृत्व हस्तान्तरणको प्रक्रियालाई सहज बनाउने उनको तर्क छ ।
हालैको जेनजी आन्दोलनलाई स्मरण गर्दै प्रचण्डले जनताले इमान्दार नेतृत्व खोजिरहेको र त्यो नपाउँदा दलप्रति वितृष्णा बढेको टिप्पणी गरे । “जनताले उठाएका प्रश्न गम्भीर छन्, त्यसलाई बेवास्ता गर्नु हाम्रो लागि आत्मघाती हुन्छ,” उनले भने ।
उनले राष्ट्रिय स्वाधीनता अहिले अहिलेसम्मकै गम्भीर संकटमा परेको उल्लेख गर्दै पार्टीलाई सुदृढ एकता र आन्दोलनमार्फत अघि बढाउनुपर्नेमा जोड दिए ।