काठमाडौँ, असोज १२ – भदौ २३ र २४ मा भएको जेनजी आन्दोलन नियन्त्रणका क्रममा प्रहरीले ठूलो मात्रामा गोली तथा अश्रुग्याँस प्रयोग गरेको तथ्य बाहिर आएको छ।
प्रहरीको आन्तरिक प्रतिवेदनअनुसार ६५ सयभन्दा बढी राउन्ड गोली र करिब ८ हजार अश्रुग्याँसका सेल प्रहार गरिएका छन्।
अन्वेषण योजना तथा विकास निर्देशनालयका डीआईजी दीपक रेग्मी नेतृत्वको समितिले तयार पारेको प्रतिवेदन प्रहरी महानिरीक्षक चन्द्र कुवेर खापुङलाई बुझाइएको छ।
प्रतिवेदनअनुसार मात्रै काठमाडौँ उपत्यकामा ४ हजार जङ्गी राउन्ड, २५ सयभन्दा बढी रबर बुलेट र ४ हजार अश्रुग्याँस सेल प्रयोग भएको छ। बानेश्वर, माइतिघर, कालीमाटी, थिमी र मालिगाउँ क्षेत्रमा अश्रुग्याँसको बढी प्रयोग भएको बताइएको छ।
यस्तै, भिड नियन्त्रणका क्रममा करिब २५ सय ब्ल्याङ्क राउन्ड समेत फायर गरिएको विवरणमा उल्लेख छ। ब्ल्याङ्क राउन्डले आवाज मात्र आउने भएकाले चेतावनीस्वरूप प्रयोग गरिएको जनाइएको छ।
प्रहरी प्रधान कार्यालय सुरक्षित राख्ने क्रममा मात्रै करिब १३ सय अश्रुग्याँस प्रहार गरिएको पाइएको छ। मधेस प्रदेशमा ६ सय सेल अश्रुग्याँस प्रहार भएको प्रतिवेदनले देखाएको छ।