चाडबाडमा बढी भाडा असुल गर्ने व्यवसायीमाथि कारबाही हुने


चाडबाडमा बढी भाडा असुल गर्ने व्यवसायीमाथि कारबाही हुने
  • नवकिरण
  • आश्विन १५, २०८२

काठमाडौँ, असोज १५ – ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात तथा सहरी विकास मन्त्री कुलमान घिसिङले चाडपर्वको समयमा यात्रुबाट तोकिएको भन्दा बढी भाडा असुल गर्ने यातायात व्यवसायीलाई तत्काल कारबाही गर्ने चेतावनी दिएका छन्।

चाडबाडको भीडभाडलाई अवसर मानेर यात्रुहरूमाथि अतिरिक्त भार थोपर्ने र टिकटमा कालोबजारी गर्ने गुनासो निरन्तर आइरहेको बताउँदै मन्त्री घिसिङले कानुन विपरीतका गतिविधि तत्काल रोक्न निर्देशन दिएका हुन्।

उनले यात्रुलाई सास्ती दिने, तोकिएको भाडादरभन्दा बढी रकम लिने, तथा टिकटमा कालोबजारी गर्ने कार्य गैरकानुनी भएको स्पष्ट गर्दै यस्ता गतिविधि गर्ने व्यवसायीलाई तत्काल प्रशासन र स्थानीय सुरक्षा निकायमार्फत कारबाही गरिने बताए।

“देशको वर्तमान परिस्थितिमा सबै पक्ष जिम्मेवार बन्नुपर्छ। यात्रुलाई दुःख दिने र चाडबाडलाई कमाउने साधनको रूपमा प्रयोग नगर्न आग्रह गर्दछु,” मन्त्री घिसिङले भने।

सरकारले तोकेको भाडादरभन्दा बढी असुल भएमा यात्रुले तत्काल स्थानीय निकाय वा सम्बन्धित निकायमा जानकारी दिन पनि उनले आग्रह गरेका छन्।