इलाम, असोज १९ – निरन्तर परिरहेको अविरल वर्षाले कोशी प्रदेशको इलाम जिल्लामा ठूलो जनधनको क्षति पुर्याएको छ। बाढी, पहिरो र डुबानका घटनाले पछिल्ला दुई दिनभित्र मात्रै १८ जनाको ज्यान गएको इलाम प्रहरीले पुष्टि गरेको छ।
कोशी प्रदेश प्रहरी कार्यालयका प्रवक्ता दीपक पोखरेलका अनुसार सबै मृतक इलामका विभिन्न स्थानका रहेका छन्। सूर्योदय नगरपालिका–१ मानेभञ्ज्याङमा ५ जनाको ज्यान गएको छ भने माङसेबुङ गाउँपालिका–१ पाटिगाउँमा ३ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।
त्यसैगरी, देउमाई नगरपालिका–५ धारेमा १ जना, धुसुनेमा २ जना, फाकफोकथुम गाउँपालिका–३ रातमाटेमा १ जना र इलाम नगरपालिका–५ घोसगाउँमा ६ जनाको ज्यान गएको पुष्टि भएको छ।
लगातारको वर्षाका कारण अन्य स्थानहरूमा पनि क्षति पुगेको हुन सक्ने अनुमान गरिएको छ। स्थानीय प्रशासनका अनुसार उद्धार तथा राहत कार्यका लागि सुरक्षा निकाय, जनप्रतिनिधि र स्थानीयवासीहरू सक्रिय रूपमा खटिएका छन्।
वर्षाका कारण सडक अवरुद्ध, घर भासिने र विद्युत् आपूर्ति अवरुद्धजस्ता समस्या पनि देखिएका छन्। प्रहरीका अनुसार अहिले जोखिमपूर्ण बस्तीहरूबाट स्थानीयलाई सुरक्षित स्थानतर्फ सार्ने कार्य जारी छ।
प्रहरीले जनतालाई सावधानी अपनाउन र आवश्यक नपर्दासम्म जोखिमपूर्ण स्थानमा नजान आग्रह गरेको छ।