विपत्तिप्रति प्रचण्डको प्रतिक्रिया : “देश संकटमा छ, सबैजना एकजुट बनौं”


विपत्तिप्रति प्रचण्डको प्रतिक्रिया : “देश संकटमा छ, सबैजना एकजुट बनौं”
  • नवकिरण
  • आश्विन १९, २०८२

काठमाडौं, असोज १९ – नेकपा (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशका विभिन्न स्थानमा अविरल वर्षाका कारण आएको बाढी, डुबान र पहिरोबाट भएको ठूलो जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गरेका छन् ।

आइतबार सामाजिक सञ्जालमार्फत वक्तव्य जारी गर्दै प्रचण्डले विशेषगरी इलाममा भएको भीषण पहिरोमा परी ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना प्रकट गरेका छन् ।

“विगत केही दिनयता देशका पूर्वी र मध्य क्षेत्रहरूमा सक्रिय भएको मौसमी प्रणालीका कारण बाढी, डुबान र पहिरोले ठूलो क्षति पु¥याएकोमा म गहिरो दुःख व्यक्त गर्दछु,” उनले भनेका छन् । “इलाममा मात्र १८ जनाको मृत्यु र कैयौँ बेपत्ता भएको पीडादायी खबरले निकै मर्माहित बनाएको छ।”

उनका अनुसार रसुवासहित अन्य पहाडी जिल्लामा समेत पहिरो र बाढीले घर, राजमार्ग र कृषि क्षेत्रलाई ठुलो नोक्सानी पुर्याएको छ । पशुपंक्षी र अन्नबालीमा भएको क्षतिले जनजीवन थप कष्टकर बनेको उनको भनाइ छ ।

प्राकृतिक विपद्बाट प्रभावित जनताको तत्काल उद्धार र राहतका लागि प्रचण्डले पार्टीका सबै तहका संगठनलाई सक्रिय हुन निर्देशन दिएका छन् । उनले भनेका छन्, “हाम्रो पार्टीका सबै संरचनालाई उद्धार, राहत र पुनःस्थापनाको कार्यमा तत्पर रहन आग्रह गर्दछु।”

त्यस्तै, उनले जोखिम अझै पूर्ण रूपमा टरेको छैन भन्दै सर्वसाधारणलाई उच्च सतर्कता अपनाउन अनुरोध गरेका छन् । प्रचण्डले सबै स्तरका पार्टी कार्यालयहरूमा सहायता कक्ष स्थापना गरी उद्धार र राहत कार्यलाई थप प्रभावकारी बनाउन पनि निर्देशन दिएका छन् ।

इलाममा हालसम्म २८ जनाको मृत्यु पुष्टि भइसकेको र खोज तथा उद्धार कार्य निरन्तर जारी छ । लगातारको वर्षाले धेरै ठाउँमा यातायात अवरुद्ध भएको र क्षतिको विवरण अझै आउँदैछ ।