धनुषाको मंगराहा डुबानमा, किसानको धानबाली नष्ट


धनुषाको मंगराहा डुबानमा, किसानको धानबाली नष्ट
  • नवकिरण
  • आश्विन २०, २०८२

जनकपुरधाम, असोज २० – अविरल वर्षाका कारण धनुषाको कमला नगरपालिका–१ मंगराहा गाउँ अहिले पूर्ण रूपमा जलमग्न बनेको छ। निरन्तर वर्षाले खेतबारीमा पानी जम्दा स्थानीय किसानहरूको धानबाली डुबेर नष्ट भएको छ।

स्थानीयवासीका अनुसार असोज १७ गतेदेखि लगातार वर्षा भइरहेकाले मंगराहा क्षेत्रमा सयौं बिघा खेत डुबानमा परेका छन्। खेतमा लगाइएको धान अब सड्न थालेको छ, जसले किसानको मेहनत र लगानी दुवै खेर जाने अवस्था बनेको छ।

पानी निकासको उचित व्यवस्था नहुँदा बस्ती र खेती दुबै संकटमा परेका छन्। किसानहरूले पटक–पटक नगरपालिका र जनप्रतिनिधिलाई समस्या समाधानका लागि ध्यानाकर्षण गराए पनि हालसम्म कुनै ठोस कदम चालिएको छैन।

स्थानीय किसान रामबाबु मुखियाले भने, “हामी वर्षेनी यस्तै समस्यामा पर्दै आएका छौं। नेताहरूले आश्वासन त दिन्छन्, तर कहिल्यै समाधान गर्दैनन्। अहिले हाम्रो धानबाली सकिने अवस्थामा छ।”

हाल किसानहरू आफैं खेतमा जमेको पानी घटाउने प्रयासमा छन्। तर लगातार वर्षा र निकासको अभावले समस्या झन् गम्भीर बनेको छ।

स्थानीयहरूले तात्कालिक राहत, प्रभावकारी निकास प्रणाली निर्माण र दीर्घकालीन बाढी नियन्त्रण योजना तत्काल लागू गर्न नगरपालिका र प्रदेश सरकारसँग माग गरेका छन्।