काठमाडौं, असोज २२ – राजसंस्थाको पुनःस्थापनाको पक्षमा रहेको भनिएको समूह ‘जेन–जी एलायन्स फर मोनार्की’को नाममा १५ बुँदे प्रस्ताव सार्वजनिक गरिएको छ । उक्त प्रस्तावमा राष्ट्रिय एकता कायम गर्न सर्वपक्षीय सहमति खोज्न सरकार र राजनीतिक दलहरूलाई आग्रह गरिएको छ ।
बेनामे रूपमा जारी गरिएको उक्त दस्तावेजमा साझा समाधान नखोजिए ‘विद्रोहमा उत्रिने’ चेतावनी दिइएको छ । वक्तव्यमा कसैको नाम वा हस्ताक्षर उल्लेख गरिएको छैन ।
जारी १५ बुँदे प्रस्तावमा संवैधानिक राजसंस्थाको पुनःस्थापना, प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री प्रणाली लागू गर्ने, सांसदहरूको अधिकार सीमित गर्ने, असमान सन्धिहरू खारेज गर्ने, नेपाललाई हिन्दु–बौद्ध–किराँत धर्मराज्य घोषणा गर्ने लगायतका माग समावेश छन् ।
त्यससँगै, सबै तहका निकायमा कम्तीमा ५० प्रतिशत महिला सहभागिता सुनिश्चित गर्ने र १८ देखि २४ वर्ष उमेर समूहका युवाहरूका लागि अनिवार्य राष्ट्रिय सेवा लागू गर्नुपर्ने माग पनि प्रस्तावमा गरिएको छ ।