भक्तपुर, असोज २३ – नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली आज भक्तपुरमा आयोजना गरिएको विशेष राजनीतिक कार्यक्रमलाई सम्बोधन गर्ने भएका छन्।
यो कार्यक्रम एमाले भक्तपुर जिल्ला कमिटीले सूर्यविनायक नगरपालिका–७, गुण्डुमा आयोजना गरेको हो। कार्यक्रममा अध्यक्ष ओलीले हाल देशमा देखिएका राजनीतिक जटिलता र असामान्य परिस्थितिबारे आफ्ना धारणा सार्वजनिक गर्ने जनाइएको छ।
पार्टीका स्रोतका अनुसार, ओलीले नेताहरू र कार्यकर्ताहरूले यस परिस्थितिमा अपनाउनुपर्ने भूमिका र रणनीतिबारे निर्देशनात्मक अभिव्यक्ति दिनेछन्।
कार्यक्रममा एमालेका महासचिव शंकर पोखरेल, केन्द्रीय र प्रदेश तहका नेताहरूको समेत उपस्थिति रहने भक्तपुर जिल्ला कमिटीका अध्यक्ष बचन देउजाले जानकारी दिएका छन्।
उक्त कार्यक्रमलाई पार्टीले “समसामयिक राजनीतिक भेटघाट तथा संवाद कार्यक्रम” नाम दिएको छ। स्थानीय कार्यकर्ताहरूको उत्साहपूर्ण सहभागिता रहने अपेक्षा गरिएको छ।