बारा, असोज २५ – बाराको सिम्रौनगढ नगरपालिका–६ पानी ट्यांकी नजिक माटोको ढिस्कोले पुरिँदा दुईजनाको ज्यान गएको छ भने छ जना घाइते भएका छन्।
जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता विजयराज पण्डितका अनुसार शनिबार बिहान करिब ८:५० बजे घर लिपपोतका लागि माटो खन्ने क्रममा इशरा पोखरीको किनारमा ढिस्को खसेको थियो। ढिस्कोले पुरिँदा घटनास्थलमै ठूलो जनधनको क्षति भएको थियो।
मृत्यु हुनेमा सिम्रौनगढ–६ सानो इटवाल निवासी ७० वर्षीया शारदा देवी महतो र सोही ठाउँकी १५ वर्षीय सुनिल महतो रहेका छन्। शारदा देवीलाई उपचारका लागि कलैया प्रादेशिक अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको र सुनिल महतोको कलैया मेट्रो अस्पतालमा चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ।
घाइते हुनेमा १४ वर्षीय साजन महतो, १५ वर्षीय नितेश महतो, १८ वर्षीय गौतम मुखिया, १४ वर्षीय रानी कुमारी महतो, १४ वर्षीय सुशीला कुमारी महतो र १५ वर्षीय राजा बाबु शर्मा रहेका छन्। उनीहरूको सिम्रौनगढ कंकाली अस्पताल, धर्मनगर अस्पताल र कलैया प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ।
प्रहरी निरीक्षक पवन पछाइको नेतृत्वमा इलाका प्रहरी कार्यालय सिम्रौनगढ र सशस्त्र प्रहरी बलको टोलीले उद्धार कार्य गरेको थियो।
स्थानीयका अनुसार छठ पर्वको तयारी स्वरूप नगरपालिकाको नयाँ भवन दक्षिणतर्फ माटो खन्ने क्रममा दुर्घटना भएको हो। प्रहरीले घटनाको विस्तृत अनुसन्धान सुरु गरेको जनाएको छ।