राउटे बस्तीमा बाह्य हस्तक्षेप बढ्दा त्रास, समुदायले सुरक्षा मागे


राउटे बस्तीमा बाह्य हस्तक्षेप बढ्दा त्रास, समुदायले सुरक्षा मागे
  • नवकिरण
  • आश्विन २६, २०८२

सुर्खेत, असोज २६ – सुर्खेतको भेरीगंगा नजिक रहेको राउटे बस्तीमा पछिल्ला दिनमा बाह्य व्यक्तिहरूको अनाधिकृत प्रवेश बढेपछि समुदायमा त्रास फैलिएको छ।

असोज २४ गते राति मदिरा सेवन गरेका एक युवक बस्तीभित्र पसेपछि राउटे युवाहरूले उनलाई नियन्त्रणमा लिएर प्रहरीको जिम्मा लगाएका थिए।

राउटे युवा दीपक शाहीले रातिको समयमा बाहिरका मानिस मादक पदार्थ सेवन गरी आउँदा असुरक्षित महसुस भएको बताए। “दिनमा आउन पाइन्छ, तर राति रक्सी खाएर नआउनू,” उनले भने।

राउटे संरक्षणमा काम गर्दै आएकी सोसेककी दुर्गा खत्रीले पछिल्लो समय बस्तीमा गलत नियतका मानिसहरूको प्रवेश बढेको बताउँदै प्रहरी निगरानी आवश्यक भएको धारणा राखिन्।

त्यस्तै, बस्तीमा भाइरल ज्वरोको संक्रमण तीव्र बनेको स्वास्थ्यकर्मी अनुजा पन्तले जनाइन्। उनको भनाइमा पछिल्लो हप्तामा २५ जना बिरामी परेका छन्।

राष्ट्रिय मानवअधिकार आयोगको प्रतिवेदनअनुसार राउटे जनसंख्या घट्दै गईरहेको छ — २०७५ मा १४९ रहेको सङ्ख्या २०८१ मा घटेर १३५ पुगेको छ। विज्ञहरूका अनुसार विवाह प्रतिबन्ध, मदिरा सेवन र स्वास्थ्य अभावले यो अवस्था आएको हो।

कर्णाली सरकार भने राउटे समुदायको संरक्षणका लागि ‘राउटे करिडोर’ निर्माण गर्ने तयारीमा छ।