‘दुई ट्रक पैसा सारियो’ भन्ने दाबीमा प्रचण्ड सचिवालयको खण्डन, प्रमाण पेश गर्न चुनौती


‘दुई ट्रक पैसा सारियो’ भन्ने दाबीमा प्रचण्ड सचिवालयको खण्डन, प्रमाण पेश गर्न चुनौती
  • नवकिरण
  • आश्विन २६, २०८२

काठमाडौं, असोज २६ – नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा महाधिवेशन आयोजक समितिका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को निवासबाट दुई ट्रकमा दुई करोड रुपैयाँ सारिएको भन्ने समाचार असत्य भएको प्रचण्ड सचिवालयले जनाएको छ।

सचिवालयका स्वकीयसचिव गोविन्द आचार्यले आइतबार एक विज्ञप्ति जारी गर्दै ‘प्रचण्डको घरबाट दुई ट्रक पैसा अन्यत्र लगिएको’ भन्ने प्रचारको कुनै तथ्य नदेखिएको र त्यसको प्रमाण पेश गर्न चुनौती दिएका छन्।

‘संयोजक प्रचण्डको निवासबाट जेन–जी आन्दोलनअघि दुई ट्रकमा रकम लगिएको, सुरक्षाकर्मीलाई घरेलु कामदारको रूपमा प्रयोग गरिएको र गंगा दाहालको घरमा आठ जना सुरक्षा फौज खटाइएको जस्ता दाबीहरू पूर्णतः निराधार छन्,’ विज्ञप्तिमा भनिएको छ।

सचिवालयले यस्ता भ्रामक जानकारी डिजिटल मिडियामार्फत फैलाउनु साइबर कानुन विपरीत भएको उल्लेख गर्दै सम्बन्धित निकायलाई आवश्यक अनुसन्धान र कानुनी कारबाही गर्न आग्रह गरेको छ।

जेन–जी आन्दोलन सुरु हुनुभन्दा केही दिनअघि नेपाल प्रहरीका पूर्व एआईजी देवेन्द्र सुवेदीले एक युट्युब अन्तर्वार्तामा ‘प्रचण्डको निवासबाट दुई ट्रक रकम अन्यत्र लगिएको’ दाबी गरेका थिए। सो दाबीपछि सामाजिक सञ्जालमा विभिन्न अनुमान र टिप्पणी फैलिएका थिए।

यसबीचमा सरकारले पूर्वप्रधानमन्त्री प्रचण्ड र केपी शर्मा ओलीका सुरक्षाकर्मी संख्यामा कटौती गरेको छ। सरकारका अनुसार सुरक्षासम्बन्धी कार्यविधिमा उल्लेख मापदण्डभन्दा बढी सुरक्षाकर्मी प्रयोग गरिएको पाइएकोले उनीहरूलाई फिर्ता बोलाइएको हो।