काठमाडौं, असोज २७ – जेन–जी आन्दोलनको क्रममा लुटपाट र आगजनी भएको नेकपा (माओवादी केन्द्र) केन्द्रीय कार्यालयबाट हराएका केही सामग्री अन्ततः फिर्ता आएका छन्।
भदौ २४ गते कोटेश्वरस्थित पेरिसडाँडामा रहेको माओवादी केन्द्रको कार्यालयमा भएको तोडफोडपछि हराएका मोनिटर, सीपीयू, प्रिन्टर, इन्भर्टर, फ्यान, झोला र माओत्सेतुङका दुईवटा शालिकसहितका सामग्री आइतबार प्रहरीले पार्टीलाई बुझाएको हो।
जिल्ला प्रहरी परिसर काठमाडौंले विभिन्न ठाउँमा छानबिन गर्दै ती सामान संकलन गरेको थियो। प्रहरीको सार्वजनिक आह्वान र माओवादी केन्द्रले आफ्ना मातहतका कमिटीलाई पठाएको सर्कुलरपछि केही सामानहरू फिर्ता भएका थिए भने केही प्रहरीको सक्रियतामा फेला परेका थिए।
आइतबार माओवादी केन्द्रका कार्यकर्ताहरू आधिकारिक पत्रका साथ जिल्ला प्रहरी परिसर पुगेर सामान बुझ्न आएका थिए। वाईसीएलका नेता दीपक न्यौपानेका अनुसार, ‘हामीले हाम्रो कार्यालयका भनेर चिनिने तीन थान मोनिटर, पाँच थान सीपीयू, मजदुर संगठनको लोगो अंकित १६ थान झोला, इन्भर्टर, फ्यान र एक थान प्रिन्टर फिर्ता ल्याएका छौं,’ उनले बताए।
न्यौपानेले प्रहरी प्रशासनले सामग्री सुरक्षित राखिदिएको र फिर्ता प्रक्रियामा सहयोग गरेकोप्रति आभार प्रकट गरे।
माओवादी केन्द्रका एक कार्यकर्ताका अनुसार, पार्टीले चोरी भएका सामान खोज्न निर्देशन दिएपछि कार्यकर्ताहरूले काठमाडौंका केही निम्न वर्गीय बस्तीहरूमा खोजी गर्दा त्यहीँबाट केही सामग्री फेला परेको बताइएको छ।
‘हामी त निम्न वर्गकै हक अधिकारका लागि लड्ने पार्टी हौं, तर हाम्रै पार्टीका चोरी भएका सामान त्यस्ता बस्तीहरूमा भेटिँदा मन दुःख भयो,’ एक कार्यकर्ताले भने।
यसअघि भएको तोडफोड र आगजनीका विषयमा प्रहरीले अनुसन्धान जारी राखेको जनाएको छ।