बालेन शाह र सुदन गुरुङविरुद्ध रौतहटमा पनि जाहेरी दर्ता


बालेन शाह र सुदन गुरुङविरुद्ध रौतहटमा पनि जाहेरी दर्ता
  • नवकिरण
  • आश्विन २७, २०८२

रौतहट, असोज २७ – काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन शाह र ‘हामी नेपाल’का संस्थापक सुदन गुरुङविरुद्ध रौतहटमा पनि जाहेरी दर्ता गरिएको छ। नेकपा एमालेको भातृ संगठन राष्ट्रिय युवा सङ्घ नेपालले उनीहरूलाई युवामाथि आपत्तिजनक अभिव्यक्ति दिएको र समाजमा द्वन्द्व उत्पन्न गर्ने गतिविधि गरेको आरोप लगाएको हो।

जाहेरी राष्ट्रिय युवा सङ्घका केन्द्रीय सदस्य बजरङ्गी गुप्ता र रौतहट जिल्ला इन्चार्ज सन्तोष साहले जिल्ला प्रहरी कार्यालय गौरमा दिएका हुन्। जाहेरी पत्र मुद्दा फाँटका इन्स्पेक्टर रुद्र कँडेललाई बुझाइएको प्रहरीले जनाएको छ।

संघका नेताहरूका अनुसार शाह र गुरुङले सामाजिक सञ्जालमार्फत युवाहरूमा विभाजन र उत्तेजना फैलाउने किसिमका अभिव्यक्ति दिँदै आएका छन्। उनीहरूको भनाइमा, राजनीतिक मर्यादा उल्लङ्घन गर्दै दुवैले गैरजिम्मेवार टिप्पणी गरेको आरोप जाहेरीमा उल्लेख गरिएको छ।

यसअघि पनि बालेन शाह र सुदन गुरुङविरुद्ध काठमाडौंलगायत अन्य जिल्लामा समेत उजुरी परेका थिए। प्रहरीले जाहेरी दर्ता भई आवश्यक अनुसन्धान प्रक्रिया अघि बढाइएको जनाएको छ।