इजरायलमा मारिएका विपिन जोशीको शव सोमबार काठमाडौं ल्याइने


इजरायलमा मारिएका विपिन जोशीको शव सोमबार काठमाडौं ल्याइने

|Oplus_131072

  • नवकिरण
  • कार्तिक २, २०८२

काठमाडौं, कार्तिक २ – गत वर्ष हमासको आक्रमणमा मारिएका कञ्चनपुरका युवा विपिन जोशीको शव भोलि सोमबार नेपाल ल्याइने भएको छ। परराष्ट्र मन्त्रालयका अनुसार उनको शव फ्लाई दुबईको विमानमार्फत काठमाडौं ल्याइने तयारी गरिएको छ। उक्त विमान दिउँसो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने तालिका तय गरिएको छ।

जोशीको पार्थिव शरीरप्रति श्रद्धाञ्जली अर्पण गर्न प्रधानमन्त्री, मन्त्रीहरू तथा परराष्ट्र मन्त्रालयका उच्च अधिकारीहरूको उपस्थितिमा विशेष कार्यक्रम आयोजना गरिने तयारी छ।

इजरायलमा अध्ययनरत जोशीलाई सन् २०२३ अक्टोबर ७ मा हमासले किबुत्ज क्षेत्रमा आक्रमण गर्ने क्रममा बन्धक बनाएको थियो। लामो समयसम्म उनको अवस्थाबारे केही जानकारी नहुँदा परिवार र नेपाली समाजले उनको सुरक्षित फर्कने आशा राखेका थिए। तर, गत असोज २७ गते इजरायली अधिकारीहरूले डीएनए परीक्षणका आधारमा उनको मृत्यु पुष्टि गरेका थिए।

इजरायल र हमासबीच युद्धविराम सम्झौता भएपछि भएको बन्दी साटासाट प्रक्रियाका क्रममा हमासले विपिनको शव इजरायली सेनालाई बुझाएको थियो। त्यसपछि फरेन्सिक परीक्षणबाट अपहरण भएको समयमा नै उनको मृत्यु भएको निष्कर्ष निकालिएको इजरायलस्थित नेपाली दूतावासले जनाएको छ।

सरकारले जोशीको शव नेपाल ल्याएर सरकारी सम्मानका साथ परिवारलाई बुझाउने तयारी गरेको छ।