काठमाडौं, कात्तिक ३ – नयाँ राजनीतिक संगठन राष्ट्रिय जेनजी पार्टी नेपाल ले सोमबार निर्वाचन आयोगमा दल दर्ताका लागि औपचारिक निवेदन दर्ता गरेको छ। पार्टीको अध्यक्षमा हिरा प्रसाद सेती रहेका छन् भने पार्टीको चुनाव चिन्ह ‘क्रस खुकुरी’ प्रस्ताव गरिएको छ।
पार्टीले आफ्नो नीति तथा सिद्धान्तमा सामाजिक उदारवादलाई राजनीतिक दर्शनको रूपमा अंगीकार गर्ने उल्लेख गरेको छ। साथै, युवा नेतृत्व, संघीयता, धर्मनिरपेक्षता, समानुपातिक समावेशिता, वातावरण संरक्षण, यौनिक तथा लैंगिक अल्पसंख्यक अधिकार र गणतन्त्रलाई प्रमुख स्तम्भका रूपमा स्थापित गरिएको छ।
दलको विधानअनुसार कुनै पनि पदाधिकारीले अधिकतम दुई कार्यकालसम्म मात्र जिम्मेवारी वहन गर्न सक्ने व्यवस्था गरिएको छ।
राष्ट्रिय जेनजी पार्टीको संघीय कार्यालय काठमाडौंको अनामनगरमा रहेको छ। प्रारम्भिक केन्द्रीय समिति २१ सदस्यीय रहेको उक्त समितिमा अध्यक्ष सेतीका साथ उपाध्यक्ष मुना बिक, महासचिव गोपाल आचार्य, र सचिवहरूमा संजु नेपाली, मोहम्मद आयातुल्ला रहमान र होम श्रेष्ठ रहेका छन्।