कञ्चनपुर, कार्तिक ४ – इजरायलमा मारिएका कञ्चनपुरका विपिन जोशीको आज बिहान कञ्चनपुरको महाकाली नदी किनारस्थित भुजेलाघाटमा राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिएको छ। अन्त्येष्टि समारोहमा सशस्त्र प्रहरीका टोलीले जोशीलाई सलामी अर्पण गरी श्रद्धाञ्जलि दिएका थिए।
विपिनको शव सोमबार दिउँसो इजरायलबाट काठमाडौं ल्याइएपछि नेपाली सेनाको स्काइ ट्रकमार्फत धनगढी हुँदै कञ्चनपुरको भीमदत्त नगरपालिका–३ भाषीस्थित उनको घर पुर्याइएको थियो। नेपालस्थित इजरायली दूतावासका अधिकारी स्वयं घर पुगेर शव परिवारलाई हस्तान्तरण गरेका थिए।
राति ढिलो घरमा शव आइपुगेपछि आज बिहान बिहानै शवयात्रा निकालेर महाकाली किनारमा अन्त्येष्टि गरिएको परिवारले जनाएको छ।
दुई वर्षअघि सुदूरपश्चिम विश्वविद्यालयको ‘लर्न एन्ड अर्न’ कार्यक्रमअन्तर्गत अध्ययनका लागि इजरायल गएका २२ वर्षीय जोशी सन् २०२३ को अक्टोबर ७ मा हमासको आक्रमणमा परेका थिए। हमास लडाकूहरूले उनलाई नियन्त्रणमा लिएर बन्धक बनाएका थिए। त्यसपछि उनी दुई वर्षसम्म बेपत्ता रहे।
तर हालै इजरायल–हमासबीचको युद्धबिरामपछि बन्धकहरूको विवरण सार्वजनिक गर्ने क्रममा इजरायली सेनाले विपिनको सन् २०२३ मै हत्या भएको पुष्टि गरेको थियो। इजरायलले पठाएको फरेन्सिक रिपोर्ट अनुसार उनको टाउकोमा गोली लागेर मृत्यु भएको उल्लेख गरिएको छ।
तिहारको वातावरणबीच विपिनको शव घर आइपुग्दा गाउँभर शोकको छायाँ छाएको छ। परिवारका सदस्य किशोर जोशीका अनुसार, “बहिनी पुष्पा यसपालि भाइटीकामा दाजुसँग भेट हुने अपेक्षामा थिइन्, तर लक्ष्मीपूजाको दिन दाजुको शव आँगनमा आइपुग्दा परिवार र गाउँ दुवै शोकमा डुब्यो।”
जोशी परिवारले दाइको निधनको खबर पुष्टि भएपछि घरमा सजाइएका सयपत्री फूलहरू पनि हटाएका छन्।