काठमाडौं, कार्तिक ४ – गृहमन्त्री ओमप्रकाश अर्यालले नेकपा (एमाले) अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले जाँचबुझ आयोगको अधिकार र अस्तित्व अस्वीकार गरे कानुनले नै उहाँलाई आफ्नो दायरामा ल्याउने चेतावनी दिएका छन्।
एक अन्तर्वार्तामा बोल्दै गृहमन्त्री अर्यालले ओलीलाई अब ‘कानुनभन्दा माथि’ रहेको भ्रममा नपर्न सुझाव दिएका हुन्। उनले भने, “ओलीजी ‘सुपर सिटिजन’ होइनन्। राजसंस्थाका राजा आफैंले पनि ‘पूर्वराजा’ लेख्छन्। अब उहाँलाई ‘म कानुनभन्दा माथि छु’ भन्ने लागेको होला, तर कानुनले सबैलाई बराबरी व्यवहार गर्छ। जाँचबुझ आयोगको अस्तित्व अस्वीकार गर्नुभयो भने उहाँलाई कानुनले ठाउँमा ल्याउँछ।”
हालै ओलीले आफूलाई उपत्यकाबाट निषेध गरिएको विषयमा सरकारमाथि आरोप लगाएका थिए। तर गृहमन्त्री अर्यालले त्यो गलत हल्ला भएको बताए। उनका अनुसार, ओलीलाई रोकेको निर्णय सरकारले होइन, स्वतन्त्र रूपमा काम गरिरहेको जाँचबुझ आयोगले गरेको हो।
“सरकारले कुनै रोक लगाएको छैन। आयोगले गरेको निर्णय हो। यस्तो विषयमा अपवाह फैलाउनु उचित होइन,” उनले स्पष्ट पारे।
अर्यालले ओलीमाथि झुट्टा प्रचार र लापरवाहीपूर्ण अभिव्यक्तिबाट देशलाई संकटमा धकेलेको आरोप पनि लगाए। उनले भने, “ओलीजीले अपवाह फैलाएर, लापरवाही गरेर देशलाई भड्खालोमा हालेका हुन्। सुरक्षा निकायका चेतावनी बेवास्ता गरेर उहाँको ‘क्रिमिनल नेग्लिजेन्स’ का कारण ठूलो धनजनको क्षति भएको हो।”
गृहमन्त्रीले ओलीको सुरक्षा घटाइएको भन्ने हल्ला पनि असत्य भएको बताए। उनले भने, “मैले कसैको सुरक्षा बढाएको वा घटाएको छैन। न त कुनै मेयर वा वडा अध्यक्षसँग मेरो सम्पर्क छ। त्यो त ओलीजीकै भ्रम हो।”
उनका अनुसार, ओलीजस्तो पूर्वप्रधानमन्त्रीको पनि सुरक्षा जिम्मेवारी गृहमन्त्रालयकै हो, तर विशेष नागरिकको रूपमा होइन, समान नागरिकको रूपमा व्यवहार गर्नुपर्ने हो।
“उहाँ अपदस्थ पूर्वप्रधानमन्त्री हुन्, तर नागरिकका हैसियतले उहाँको सुरक्षा राज्यको जिम्मेवारी हो। त्यसैले आफूलाई विशेष नागरिक नठान्न म ओलीजीलाई आग्रह गर्छु,” गृहमन्त्री अर्यालले भने।