एमालेको ११औं महाधिवेशन : करिब ३ हजार प्रतिनिधि चयन प्रक्रिया सुरु हुँदै


एमालेको ११औं महाधिवेशन : करिब ३ हजार प्रतिनिधि चयन प्रक्रिया सुरु हुँदै
  • नवकिरण
  • कार्तिक ७, २०८२

काठमाडौँ, कार्तिक ७ – नेकपा एमालेले मंसिर २७ देखि २९ गतेसम्म पोखरामा हुने ११औं महाधिवेशनका लागि प्रतिनिधि चयन प्रक्रिया अगाडि बढाउने तयारी गरेको छ। पार्टीको केन्द्रीय सचिवालय बैठक केही दिनभित्र बस्ने र सो बैठकले प्रतिनिधि छनोटका मापदण्ड र विधि तय गर्ने भएको हो।

गत असोज ३१ गते सम्पन्न केन्द्रीय कमिटी बैठकले महाधिवेशनको मिति तोके पनि प्रतिनिधि छनोट र कार्यतालिका भने अझै टुंगो लाग्न बाँकी थियो। एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार सचिवालय बैठकअघि संगठन विभागले प्रतिनिधि छनोटको प्रारम्भिक खाका तयार गर्नेछ, जसलाई सचिवालयले संशोधन गरी अन्तिम रूप दिनेछ।

गौतमले भने, “राजनीतिमा ठूला उलटफेर नभए महाधिवेशन तोकिएकै मितिमा सम्पन्न हुनेछ। महाधिवेशन सुरु हुनुभन्दा १५ दिनअघि देशभर एकैपटक प्रतिनिधि छनोट सम्पन्न हुनेछ।”

एमालेका साढे ६ लाख सदस्यहरूमध्येबाट करिब ३ हजार प्रतिनिधि चयन हुने अनुमान गरिएको छ। यसपटकको चयनमा प्रदेश, निर्वाचन क्षेत्र, जनसंगठन र विभागीय प्रतिनिधित्वलाई आधार मानिनेछ। गौतमका अनुसार महिलालगायत दलित र जनजाति समुदायलाई पनि समावेश गरिनेछ।

पार्टीका संगठन विभाग प्रमुख काशीनाथ अधिकारीले सदस्यता प्रमाणीकरण र जिल्ला अधिवेशन पूरा भइसकेकाले प्रतिनिधि छनोटमा कुनै समस्या नहुने बताए। उनका अनुसार, सचिवालयले तय गर्ने मापदण्डअनुसारै जिल्ला कमिटीहरूले प्रतिनिधि छान्नेछन्।

चार वर्षअघि २०७८ साल मंसिरमा चितवनको सौराहामा सम्पन्न दशौं महाधिवेशनमा २ हजार १५३ जना प्रतिनिधि सहभागी भएका थिए। सो महाधिवेशनमा केपी शर्मा ओली दोस्रो कार्यकालका लागि अध्यक्षमा निर्वाचित भएका थिए भने भीम रावलले अध्यक्ष पदमा प्रतिस्पर्धा गरेका थिए।

पार्टीले यसपटक सदस्य संख्यामा २८ प्रतिशत वृद्धि भएको जनाएको छ, जसका कारण प्रतिनिधि संख्यामा पनि वृद्धि हुने अनुमान गरिएको छ। आगामी महाधिवेशनका लागि तयारी तीव्र गतिमा अघि बढिरहेको एमाले स्रोतले जनाएको छ।