हायात होटल बन्दप्रति प्रधानमन्त्रीको चासो, सरकारद्वारा सुरक्षाको प्रत्याभूति


हायात होटल बन्दप्रति प्रधानमन्त्रीको चासो, सरकारद्वारा सुरक्षाको प्रत्याभूति
  • नवकिरण
  • कार्तिक ८, २०८२

काठमाडौं, कात्तिक ८ – राजधानीस्थित हायात रिजेन्सी होटलले सेवा स्थगन गरेपछि प्रधानमन्त्री सुशीला कार्कीले गम्भीर चासो व्यक्त गरेकी छन्। होटल व्यवस्थापनले सुरक्षा जोखिमका कारण सेवा बन्द गर्ने निर्णय गरेपछि सरकार तत्काल सक्रिय बनेको छ।

प्रधानमन्त्रीको निर्देशनपछि अर्थमन्त्री रामेश्वर खनालले शनिबार बिहानै होटल व्यवस्थापनसँग सम्पर्क गरी सेवा पुनः सञ्चालन गर्न आग्रह गरेका छन्। उनले भने, “होटलको सुरक्षा सुनिश्चित गर्न सरकार तयार छ। नआत्तिनुहोस्, उच्च मनोबलका साथ सेवा पुनः सुचारु गर्नुहोस्।”

सरकारले सुरक्षाको पूर्ण प्रत्याभूति दिने प्रतिबद्धता जनाउँदै होटललाई आफ्नो व्यावसायिक सेवा निरन्तर राख्न प्रोत्साहन गरेको छ। प्रधानमन्त्री कार्यालयका अनुसार आइतबार सरकार र होटल व्यवस्थापनबीच थप छलफल हुने र समस्याको दीर्घकालीन समाधान खोजिनेछ।

गत भदौ २४ गते ‘जेनजी आन्दोलन’का क्रममा होटल परिसरमा तोडफोड र अराजक गतिविधि भएपछि होटलले आफ्नो सम्पूर्ण सेवा बन्द गरेको थियो। आन्दोलनका कारण सुरक्षा जोखिम बढेपछि व्यवस्थापनले श्रमिकहरूलाई अर्को सूचना नआएसम्म होटल परिसरमा नआउन निर्देशन दिएको हो।

होटलका मानव संशाधन निर्देशक मोहम्मद यूसुफ चौधरीले जारी गरेको सूचनामा भनिएको छ, “मर्मत तथा पुनर्निर्माणको जोखिम र सुरक्षागत संवेदनशीलताका कारण होटलको सम्पूर्ण सेवा अस्थायी रूपमा बन्द गरिएको छ।”

सरकारले भने हायात जस्ता ठूला आतिथ्य संस्थाको सुरक्षा र व्यवसायिक वातावरण सुदृढ गर्न आवश्यक कदम चाल्ने प्रतिबद्धता दोहोर्याएको छ।