काठमाडौँ, कात्तिक ८ – राजधानीको माइतीघर मण्डलामा बिना अनुमति प्रदर्शन गर्न पुगेका ७५ जना व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको छ। शनिबार विभिन्न समूहहरू प्रदर्शनका लागि माइतीघर पुगेपछि प्रहरीले रोक्दै पक्राउ गरेको हो।
काठमाडौं प्रहरी परिसरका प्रवक्ता एसपी पवन भट्टराईका अनुसार प्रशासनको अनुमति नलिई कुनै पनि कार्यक्रम गर्न नदिने सूचना दिइएको थियो। तर पनि केही समूहहरू मण्डलामा भेला भएपछि प्रहरीले सोधपुछका लागि नियन्त्रणमा लिएको उनले बताए।
उनका अनुसार, माइतीघर क्षेत्रमा पहिलेदेखि नै एउटा समूह उपस्थित रहेको र नयाँ समूह पुग्दा मनमुटावको अवस्था सिर्जना भएपछि प्रहरीले स्थिति नियन्त्रणमा लिन कदम चाल्नुपरेको हो।
हाल पक्राउ परेका व्यक्तिहरूको विवरण संकलन भइरहेको र आवश्यक अनुसन्धानपछि कानून अनुसार प्रक्रिया अघि बढाइने प्रहरीले जनाएको छ।
पछिल्ला दिनहरूमा जेनजी आन्दोलनका नाममा माइतीघर क्षेत्रमा निरन्तर प्रदर्शन भइरहेका छन्। प्रदर्शनकारीहरूले सरकारका विभिन्न नीतिहरूको विरोध गर्दै दबाबमूलक कार्यक्रम गर्दै आएका छन्।
