प्रतिनिधिसभा विघटनपछि मुलुक गम्भीर मोडमा पुगेको सभामुख घिमिरेको टिप्पणी


प्रतिनिधिसभा विघटनपछि मुलुक गम्भीर मोडमा पुगेको सभामुख घिमिरेको टिप्पणी
  • नवकिरण
  • कार्तिक २८, २०८२

काठमाडौँ, कार्तिक २८ – सभामुख देवराज घिमिरेले हालै गरिएको प्रतिनिधिसभा विघटन असंवैधानिक भएको दाबी गर्दै संसद् तुरुन्तै पुनर्स्थापना गर्नुपर्ने आग्रह पुनः दोहोर्याएका छन्।

शुक्रबार बिहान झापा, बिर्तामोडस्थित आफ्नो निवासमा पत्रकारहरूसँग कुरा गर्दै उनले सर्वोच्च अदालतले सम्बन्धित मुद्दालाई प्राथमिकताका साथ छिटो सुनुवाइमा लैजानुपर्ने आवश्यकता औंल्याए। घिमिरेका अनुसार कानुनी आधार, राजनीतिक आवश्यकता र व्यवहारिक पक्ष सबै मिलेर संसद् पुनर्स्थापना नै उचित विकल्प देखिन्छ।

उनले प्रतिनिधिसभा भंग भएपछि मुलुक अनावश्यक राजनीतिक संकटतर्फ धकेलिएको उल्लेख गर्दै भने, “संसद् पुनर्स्थापना गरी संविधानमा आवश्यक संशोधन गर्दा अहिले चुलिएको राजनीतिक तनाव, जेनजी आन्दोलनका माग र अन्य जटिलता समाधान गर्न सकिन्छ।”

सभामुख घिमिरेले संविधान संशोधनका विषयहरू संवाद र सहमतिमार्फत अघि बढाउन सकिने बताउँदै वर्तमान सरकारका प्रधानमन्त्री संविधानअनुसार नै पदमा बस्न अयोग्य रहेको आरोप समेत लगाए।

झापा जिल्लामा रहेका विकास आयोजनाहरूको अनुगमनका क्रममा उनले गोकुल जोशी मार्ग, हर्कलाल मार्गलगायत पूर्वाधार निर्माणको अवस्थाबारे जानकारी लिए।

त्यस क्रममा हालै जेनजी आन्दोलनका क्रममा आगजनी र तोडफोड भएका बिर्तामोड नगरपालिका, इलाका प्रहरी कार्यालय अनारमणि, जिल्ला ट्राफिक प्रहरी कार्यालय, तथा एमाले, कांग्रेस र माओवादीबाहेक अन्य राजनीतिक दलका कार्यालयहरू पनि उनले निरीक्षण गरेको सभामुख सचिवालयका हिमाल मैनालीले बताए।