काठमाडौँ, कात्तिक २८ – नवगठित नेपाली कम्युनिस्ट पार्टी को दर्ताविरुद्ध निर्वाचन आयोगमा उजुरी परेको छ। यसबारे नेकपाका अध्यक्ष लोकनारायण सुवेदीले कात्तिक २६ गते आयोगमा औपचारिक उजुरी दर्ता गराएका हुन्।
कात्तिक १९ गते माओवादी केन्द्र, एकीकृत समाजवादी लगायत १० वाम घटक एकीकृत भई नेपाली कम्युनिस्ट पार्टी नाममा नयाँ दल निर्माण गरी सोही नामबाट दर्ताका लागि आयोगमा निवेदन दिएका थिए। तर सुवेदीले सो नाम र छोटकरी ‘नेकपा’ पहिले नै आफ्नो दलले प्रयोग गर्दै आएको भन्दै आपत्ति जनाएका छन्।
उनीद्वारा पेस गरिएको उजुरीमा राजनीतिक दलसम्बन्धी ऐन २०७३ को दफा ६(ख) को उल्लंघन भएको दाबी गरिएको छ। सुवेदीका अनुसार नयाँ दलको नाम र संक्षिप्त रूप पहिले नै दर्ता भइसकेको दलसँग अत्यन्त मिल्दोजुल्दो भएकाले जनस्तरमा भ्रम सिर्जना हुन सक्छ।
उजुरीमा उल्लेख गरिएको छ, “नेपाली कम्युनिस्ट पार्टीको छोटकरी ‘नेकपा’ र अंग्रेजी नाम Communist Party of Nepal पहिले नै दर्ता छ। समान उच्चारण र समान संक्षिप्त रूपका कारण दुई दल छुट्याउन कठिन हुने भएकाले नयाँ दल दर्ता नगरिदिनुपर्छ।”
सुवेदीले यसअघि पनि मिल्दोजुल्दो नामका दल दर्ता भएपछि आफूले सर्वोच्च अदालतमा रिट दर्ता गरेको र त्यसपछि नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) छुट्टिएको उदाहरण समेत उजुरीमा उल्लेख गरेका छन्।
निर्वाचन आयोगका एक अधिकारीले उजुरी प्राप्त भएको पुष्टि गर्दै, “नेपाली कम्युनिस्ट पार्टी दर्ताबारे परेको उजुरीमा आयोगले आवश्यक निर्णय लिनेछ,” बताएका छन्।
नयाँ दलको दर्ता प्रक्रिया उजुरीकै कारण अब आयोगको निर्णयमा निर्भर रहने भएको छ।
