बारा, मंसिर ३ – नेकपा एमाले नेता महेश बस्नेतको आगमनअघि सिमरा विमानस्थल क्षेत्र बुधबार तनावग्रस्त बनेको छ। बस्नेत मधेस प्रदेश स्तरीय युवा जागरण अभियानमा सहभागी हुन बारा आउँदै छन् भनेर थाहा पाएपछि जेनजी समूहका युवाहरू विमानस्थल नजिकै भेला भएर विरोध प्रदर्शनमा उत्रिएका थिए।
विरोध बढ्दै जाँदा जेनजी समूह र प्रहरीबीच घर्षण उत्पन्न भयो। भीड नियन्त्रणका लागि प्रहरीले बल प्रयोग गरेपछि दुवै समूहबीच झडप भएको प्रत्यक्षदर्शीले बताएका छन्।
स्थिति नियन्त्रणमा लिन विमानस्थल परिसर र आसपासका क्षेत्रमा जनपथ तथा सशस्त्र प्रहरीले ठूलो संख्यामा सुरक्षा फौज परिचालन गरिएको छ।
यसै क्रममा नेता बस्नेतलाई स्वागत गर्न आएका एमाले नेता किसान श्रेष्ठ, ज्वालाकुमारी साह, अच्युत मैनालीलगायतका नेताहरू पनि विमानस्थलमै रहेका छन्। उनीहरूलाई प्रहरीले सुरक्षा घेराभित्र राखेको छ।
बारा क्षेत्रमा अहिले पनि सुरक्षा व्यवस्था कडा बनाइएको र परिस्थिति सामान्य बनाउने प्रयास जारी रहेको बताइएको छ।
