जेनजी विद्रोहमा दमन गर्नेहरूलाई अन्तर्राष्ट्रिय रूपमा पनि कारबाही हुनेछ : गृहमन्त्री अर्याल


जेनजी विद्रोहमा दमन गर्नेहरूलाई अन्तर्राष्ट्रिय रूपमा पनि कारबाही हुनेछ : गृहमन्त्री अर्याल
  • नवकिरण
  • मंसिर २३, २०८२

काठमाडौं मंसिर २३ – गृहमन्त्री ओमप्रकाश अर्यालले जेनजी विद्रोहमाथि गरिएको दमनका लागि अब दोषीहरूलाई केवल राज्य संयन्त्रमार्फत मात्र नभई अन्तर्राष्ट्रिय तहबाट पनि घेराबन्दी गर्ने चेतावनी दिएका छन्।

मंगलबार काठमाडौंमा जेनजी शहीदहरूका सम्मानमा आयोजित दीप प्रज्वलन समारोहमा बोल्दै उनले सरकारले शहीद र घाइतेहरूको माग पूरा गर्दै न्यायिक प्रक्रियालाई तीव्र बनाइरहेको बताए।

अर्यालले हालको जेनजी विद्रोहको मूल कारण सत्तामा रहेकाहरूको कुशासन भएको उल्लेख गर्दै अब सरकार सुशासनको पक्षधर भएर अघि बढिरहेको दाबी गरे। उनका अनुसार, शहीदहरूको बलिदानले देखाएको मार्गअनुसार राज्य सुधार र उत्तरदायित्वमा सरकार प्रतिवद्ध छ।

गृहमन्त्रीले जेनजी घटनाको सत्यतथ्य पत्ता लगाउन जाँचबुझ आयोग सक्रिय रहेको र राष्ट्रिय मानव अधिकार आयोगले पनि छुट्टै अनुसन्धान थालेको बताए। “ढिलो चाँडो दोषीहरू कानुनी दायरामा आउनेछन्,” उनले भनिरहेका थिए।

भ्रष्टाचार नियन्त्रणका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई आवश्यक वातावरण प्रदान गरिएको बताउँदै उनले पर्दा पछाडिबाट नेताहरूलाई प्रभावित गर्दै जनतालाई दुःख दिने समूहमाथि कारबाही अगाडि बढाइने जानकारी दिए।