बुटवल, मंसिर २५ – रास्वपा सभापति रवि लामिछाने र पूर्व गोर्खा मिडिया सञ्चालक छविलाल जोशीसम्बन्धी सुप्रिम सहकारी ठगी मुद्दा फेरि एकपटक स्थगित भएको छ। कात्तिक १३ गतेदेखि लगातार पेसी चढिरहेको यो मुद्दा आज पनि अघि बढ्न सकेन।
अदालतका सूचना अधिकारी रामबहादुर कुँवरका अनुसार न्यायाधीश सागर विष्टको नजिकका आफन्तमध्ये एक जना उक्त मुद्दामा जाहेरवाला कानुन व्यवसायी परेपछि सुनुवाइ ‘हेर्न नमिल्ने’ सूचीमा राखिएको हो। यस कारणआजको पेसी पुनः सारिएको उनले बताए।
यसअघि पनि विभिन्न कारणले यो मुद्दा पटक–पटक स्थगित हुँदै आएको छ। एकपटक रवि लामिछानेका कानुन व्यवसायीले स्वयं निवेदन दिएर मिति सारिएको थियो भने अर्कोपटक छविलाल जोशीका कानुन व्यवसायीले निवेदन दिएपछि सुनुवाइ रोकिएको थियो। गत बिहीबार सार्वजनिक बिदा परेकाले पनि मुद्दा अघि बढ्न सकेको थिएन।
सुप्रिम सहकारी ठगी प्रकरणमा जिल्ला अदालत रुपन्देहीले लामिछाने र जोशीलाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश गरेपछि उनीहरू अहिले कारागारमै छन्। लामिछानेलाई भैरहवाबाट ललितपुरको नख्खु कारागार स्थानान्तरण गरिएको छ भने जोशी भैरहवाकै कारागारमा छन्।
सहकारीमा भएको आर्थिक अनियमिततामा सामूहिक रूपमा १० करोड ९९ लाख ३६ हजार रुपैयाँको बिगो प्रमाणित गर्दै अभियोगपत्र दायर गरिएको छ। रवि लामिछानेले आफूले वहन गर्नुपर्ने रकममध्ये एक भाग बराबरको जमानत दस्तुर तिरेको कागजात पेश गरे पनि अदालतले दुवै प्रतिवादीको हिस्सामा कति बिगो रहने भन्ने स्पष्ट नभएकाले रिहाइ दिन अस्वीकार गरेको थियो। जोशीले पनि जमानत निवेदनसहित बिगो दाखिला गरेअनुसारको कागजात पेश गरेका थिए।
मुद्दा एकै प्रकृतिको भएकाले दुवै प्रतिवादीको फाइल एकैसाथ हेर्नुपर्ने आदेश न्यायाधीश मिलनकुमार राई र ओमप्रसाद अर्यालको इजलासले पहिले नै दिएको छ। तर निष्पक्षताको प्रश्न उठ्ने परिस्थिति देखिएपछि आज पनि सुनुवाइ अघि बढ्न नसकेको हो।
