बालेन–रवि सहमतिपछि दीपकराज गिरीको चेतावनी : जनताको भरोसा जोगाउनुस्


बालेन–रवि सहमतिपछि दीपकराज गिरीको चेतावनी : जनताको भरोसा जोगाउनुस्
  • नवकिरण
  • पौष १३, २०८२

काठमाडौँ, पुस १३ – कलाकार दीपकराज गिरीले पछिल्ला राजनीतिक सहमतिप्रति संकेत गर्दै मुलुकले पुनः नयाँ विकल्प खोज्नुपर्ने अवस्था नआओस् भनी चेतावनी दिएका छन्। सामाजिक सञ्जालमार्फत प्रतिक्रिया जनाउँदै गिरीले नयाँ सहमतिसहित अघि बढेका नेताहरूलाई शुभकामना दिँदै सचेत रहन आग्रह गरेका हुन्।

गिरीले आफ्नो स्ट्याटसमा नाम तोकेर उल्लेख नगरे पनि काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको तस्बिर राखेका छन्। साथै ‘नयाँ सहमति’ भन्ने शब्द प्रयोग गरेकाले उनको अभिव्यक्ति उनीहरूप्रति लक्षित रहेको बुझ्न सकिन्छ।

स्ट्याटसमा उनले नेपालको राजनीतिक इतिहास स्मरण गर्दै जनताले पटक–पटक परिवर्तनको पक्षमा साथ दिएको उल्लेख गरेका छन्। ‘२००७ सालमा कांग्रेस, २०४६ सालपछि कांग्रेस र एमाले, ०६२/०६३ मा माओवादी—जनताले हरेक पटक परिवर्तनको आवाजलाई साथ दिए,’ गिरीले लेखेका छन्। तर पटक–पटक विकल्प फेरिँदा पनि देशले अपेक्षित गति लिन नसकेको उनको टिप्पणी छ।

उल्लेखनीय छ, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति लामिछाने र काठमाडौँ महानगरपालिकाका मेयर शाहबीच शनिबार राति ७ बुँदे सहमतिसहित एकताको घोषणा गरिएको थियो। उक्त सहमतिपछि सार्वजनिक भएका प्रतिक्रियामध्ये गिरीको अभिव्यक्तिलाई राजनीतिक वृत्तमा अर्थपूर्ण रूपमा हेरिएको छ।