काठमाडौं, माघ ३ – निर्वाचन आयोगले २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनका लागि अब नयाँ राजनीतिक दल दर्ता गर्न नसकिने निष्कर्ष निकालेको छ। निर्वाचनको मुखैमा प्रक्रिया थप अवरुद्ध गर्न नहुने ठहर आयोगले गरेको हो।
आयोगका अनुसार नेपाली कांग्रेस विभाजन भएको विषय होइन, विशेष महाधिवेशन विधानअनुसार भएको हो कि होइन भन्ने विषयमा मात्रै वैधता परीक्षण गरिएको हो। त्यसलाई आधार मानेर दल विभाजन भएको अर्थ लगाउन नमिल्ने आयोगको भनाइ छ।
आयोगका एक पदाधिकारीले भने, “कांग्रेस दुई खेमाजस्तो देखिए पनि दुवै पक्ष आयोगमा आएको अवस्था दल विभाजनको प्रक्रिया होइन। विशेष महाधिवेशन विधानसम्मत छ कि छैन भन्ने प्रश्नमा आयोगले निर्णय दिएको मात्र हो।”
उनका अनुसार आयोगको शुक्रबारको निर्णयले निर्वाचन प्रक्रियामा कुनै प्रभाव पार्दैन। कांग्रेसले समानुपातिकतर्फको उम्मेदवार सूची बुझाइसकेको र दुई दिनपछि प्रत्यक्षतर्फको मनोनयन प्रक्रिया सुरु हुने भएकाले यस्तो अवस्थामा नयाँ दल दर्ता गरी निर्वाचन प्रक्रियामा सहभागी गराउन सम्भव नहुने आयोगको ठहर छ।
एक उच्चपदस्थ अधिकारीले भने, “अब निर्वाचन प्रक्रिया अघि बढिसकेको अवस्थामा नयाँ दल दर्ता गर्नु भनेको खेल सुरु भइसकेपछि नयाँ खेलाडी मैदानमा छिर्न खोजेजस्तै हुन्छ।”
