खानेतेल लिटरमै ५० रुपैयाँसम्म महँगियो, बहाना कि मिलेमतो ?


खानेतेल लिटरमै ५० रुपैयाँसम्म महँगियो, बहाना कि मिलेमतो ?
  • नवकिरण
  • माघ १२, २०८२

काठमाडौं, माघ १२ – नेपाली बजारमा पछिल्लो एक सातादेखि खानेतेलको मूल्य प्रतिलिटर ४० देखि ५० रुपैयाँसम्म बढ्दा उपभोक्ता महँगो मारमा परेका छन्। विशेषगरी भटमास र सनफ्लावर तेलको भाउ एकाएक उक्लिएको छ।

हाल बजारमा भटमास र सनफ्लावर तेल प्रतिलिटर २ सय ९० देखि ३ सय रुपैयाँसम्म पुगेको छ भने तोरीको तेल ३ सय ८० देखि ४ सय रुपैयाँमा बिक्री भइरहेको छ। एक साताअघि २ सय ४५ रुपैयाँमा पाइने तेल अहिले ५० रुपैयाँ महँगो परेको उपभोक्ताले बताएका छन्।

मूल्यवृद्धिको कारणबारे व्यवसायी र उद्योगीले अन्तर्राष्ट्रिय बजार, डलरको भाउ र भारतमा बढेको मागलाई देखाएका छन्। उनीहरूका अनुसार नेपालबाट ठूलो परिमाणमा तेल निर्यात हुँदा स्वदेशी बजारमा आपूर्ति घटेको छ।

तर उपभोक्ता अधिकारकर्मीहरूले उद्योगीहरूले कृत्रिम अभाव सिर्जना गरी चुनावी समयलाई मौका बनाएको आरोप लगाएका छन्। सरकारको कमजोर अनुगमनका कारण अस्वाभाविक मूल्यवृद्धि भएको उनीहरूको भनाइ छ।

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले मूल्यवृद्धिबारे उद्योगीहरूसँग छलफल गर्ने जनाएको छ। उपभोक्ताले भने तत्काल प्रभावकारी अनुगमन र नियन्त्रणको माग गरेका छन्।