काठमाडौँ, माघ १३ – रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत दक्षिण कोरिया जान भाषा तथा सीप परीक्षा उत्तीर्ण गरेका युवायुवतीहरू लामो समयसम्म पनि रोजगारीका लागि छनोट नपरेपछि सडकमा उत्रिएका छन्।
कृषि तथा पानीजहाज क्षेत्रमा काम गर्न भाषा परीक्षा पास गरी रोस्टरमा नाम समावेश भएका उनीहरूले एक वर्षभन्दा बढी समय बित्दा पनि कोरिया जान नपाएको गुनासो गरेका छन्। हालको व्यवस्था अनुसार दुई वर्षसम्म रोजगारीका लागि छनोट नभए रोस्टरबाट नाम हट्ने भएकाले उक्त अवधि बढाउनुपर्ने उनीहरूको माग छ।
मंगलबार काठमाडौँको माइतीघरमा भेला भएका प्रदर्शनकारीहरूले ईपीएस प्रणालीमा देखिएको बेथिति अन्त्य गर्नुपर्ने, रोस्टर अवधि विस्तार गर्नुपर्ने तथा भाषा परीक्षा पास गरेका सबैलाई समयमै कोरिया पठाउनुपर्ने मागसहित नाराबाजी गरेका थिए।
सरकार र सम्बन्धित निकायले आफ्ना मागप्रति चासो नदिएको भन्दै उनीहरूले तत्काल निर्णय लिन आग्रह गरेका छन्।
