पूर्वराजा ज्ञानेन्द्र आगमन: राजसंस्थावादी समूहको स्वागत तयारी


पूर्वराजा ज्ञानेन्द्र आगमन: राजसंस्थावादी समूहको स्वागत तयारी
  • नवकिरण
  • माघ २७, २०८२

काठमाडौं, माघ २७ – पूर्वराजा ज्ञानेन्द्र शाहको काठमाडौं आगमनको अवसरमा राप्रपा सहितका राजसंस्थावादी समूहहरूले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गर्ने तयारी गरेका छन्।

पूर्वराजा फागुन १ गते झापाबाट काठमाडौं आउने कार्यक्रम तय भएको जनाइएको छ।

राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले विमानस्थलमा स्वागत कार्यक्रम हुने पुष्टि गरेका छन्। उनका अनुसार स्वागतपछि पूर्वराजालाई निर्मल निवाससम्म पुर्‍याइनेछ।

यस विषयमा राप्रपाले औपचारिक रूपमा विज्ञप्ति जारी गरेको छैन। तर सामाजिक सञ्जालमार्फत स्वागतमा सहभागी हुन आह्वान गरिएको छ।

राप्रपा महामन्त्री धवल शम्शेर राणा र वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले पनि राजाको स्वागत भव्य बनाउन सबै राजभक्त तथा देशभक्तलाई उपस्थित हुन आग्रह गरेका छन्।

राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईंले फागुन १ गते ११ बजे त्रिभुवन विमानस्थलको आन्तरिक टर्मिनलमा उपस्थित भई कार्यक्रमलाई शान्तिपूर्ण बनाउन अपिल गरेका छन्।